क्यान्सर विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

चितवन । यही कार्तिक १६ गतेदेखि शुरु भएको क्यान्सरसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

नेपालमै भएको स्रोतसाधन र प्रविधिको प्रयोग गरी उपचार चुस्त बनाउनुपर्ने निष्कर्षसहित तीनदिने सम्मेलन शनिबार सम्पन्न भएको हो ।

सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले बाह्य देशमा जस्तो उपचार पद्धति र प्रविधिको विकास नेपालमा नभएकाले भएका स्रोतसाधनलाई भरपुर उपयोग गरी उपचार सफल पार्नुपर्ने विज्ञहरुको सुझाव आएको बताए ।

सम्मेलनमा विदेशी विज्ञहरुको २० वटा अनुसन्धानात्मक कार्यपत्रसहित ५० वटा सोधपत्र प्रस्तुत गर्नुभई सो विषयमा छलफल भएको थियो ।

चितवनको क्यान्सर अस्पतालमा प्रयोग हुँदै आएको शल्यक्रिया पद्धतिको बारेमा समेत प्रविधिमार्फत विज्ञहरुले हलमै बसेर प्रत्यक्ष अवलोकनसमेत गरेका थिए ।

सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा भएको सम्मेलनको निष्कर्षलाई समीक्षा गरेर घोषणापत्रको रुपमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

आयोजक समितिका संयोजक डा. भोला रौनियारले सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की, र अमेरिकाका विशेषज्ञ गरी ३०० जनाको सहभागिता रहेको स्थानीय जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत