महतोलाई जनकपुरवासीले स्वीकार नगर्ने निधिको भनाई

२३ कार्तिक ०७४, जनकपुर । कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोलाई आफ्नै जिल्लामा हैसियत नभएको भन्दै जनकपुरवासीले स्वीकार नगर्ने बताएका छन् ।

बुधबार कांग्रेस नेता निधिले राजपाका नेता महतोलाई आफ्नै जिल्लामा हैसियत नभएको भन्दै जनकपुरमा गालीगलौज नचल्ने बताएका हुन् ।

‘आफ्नो जिल्लामा हैसियत छैन । महतोलाई यहाँको जनताले जवाफ दिन्छन् ।’ महतोले आफूलाई हराउन धनुषा ३ मा आएको अभिव्यक्ति दिएको उल्लेख गर्दै कांग्रेस नेता निधिले भने, ‘म जनकपुरलाई प्रदेश २ को राजधानी बनाउन, राजश्री विश्वविद्यालय बनाउन र ६ लेनको बाटो बनाउन उम्मेदवार भएको हुँ ।’

उनले धनुषाको चार वटै क्षेत्र कांग्रेसले जित्ने दाबी गरे ।

निधिले मधेसको मत दुरुपयोग गरेको आरोप !

यसअघि चुनावी कार्यक्रममा नै राजपाका नेता महतोले चुनावी प्रतिपर्धी निधिमाथि मधेसको मत लिएर दुरुपयोग गरेको र विकासको वाधक भएको भनी आरोप लगाएका थिए ।

उनले निधिलाई पटकपटक चुनाव जिताएर पठाएपनि जनकपुरको विकासमा सिन्को नभाँचेको भन्दै महतोले निधिसँग मत माग्ने अधिकार समेत नभएको बताएका थिए ।

‘संविधानको पक्षमा आफूले पनि हस्ताक्षर गरेर अरु मधेसीलाई पनि बाध्य बनाउने कांग्रेसका शीर्ष मधेसी नेता यहीँ जनकपुरका हुन्,’ महतोले जनकपुरका जनताले निधिलाई हराएर सबक सिकाउने संकेत गर्दै भनेका थिए, ‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ, आन्दोलनविरुद्ध लाग्ने, दमन गर्ने, मधेसी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनु पर्छ ।’

प्रतिनिधिसभा सदस्यका लागि धनुषा ३ मा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् । निर्वाचनको मिति नजिकिएसँगै महतो र निधिबीच चुनावी प्रचारका क्रममा आरोप–प्रत्यारोप सुरु भएको हो ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत