इमानदारले चुनाव लड्न नसक्ने अवस्था उत्पन्न : भ्रष्टहरूको राजनीति आकर्षणले चुनाव खर्च बढ्यो

काठमाडौं । आपराधिक पृष्ठभूमि भएका र भ्रष्टहरूको राजनीतिमा बढ्दो आकर्षणले चुनाव खर्च ह्वात्तै बढाइदिएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

निर्वाचनमा उम्मेदवार बनेकाहरू मध्ये कति संख्या आपराधिक पृष्ठभूमिबाट आएका छन् ? किन दलहरूले आपराधिक गतिविधिमा मुछिएका विवादास्पद उम्मेदवारलाई टिकट दिए ? के नेपाली जनताले ‘अपराधी’लाई मत दिनुपर्ने ? लोकतान्त्रिक गणतन्त्र नेपालमा यी प्रश्नहरू उठेनन् भने देशको नेतृत्व तहमा अपराधीहरू हावी हुन सक्छन् । अन्ततोगत्वा लोकतन्त्रको हत्या हुन सक्छ । सीमित भूगोल र जनसंख्यालाई धन र बल पुर्‍याएर राजनीतिमा प्रभावशाली हुन खोज्ने कोलम्बियाका ‘ड्रगका वादशाह’ पाब्लो एस्कोबार प्रवृत्तिलाई कदापि प्रोत्साहित गर्नु हुँदैन ।

आपराधिक क्रियाकलापबाट धन र शक्ति आर्जन गरेका एस्कोबार कोलम्बियाको सत्तामा पकड बनाउन सफल भएका थिए । कोकिन कारोबारबाट विश्वका धनाढ्यहरूको सूचीमा दसौं नम्बरमा परे । विश्वकै सबैभन्दा धनाढ्य अपराधीका रूपमा उनले इतिहासमा नाम लेखाए । एस्कोबार सांसद बन्न सफल भए । उनको सामथ्र्य कतिसम्म बढेको थियो भने कोलम्बियाको राष्ट्रपतिमा कसलाई जिताउने या हराउने भन्नेमा उनको महत्वपूर्ण भूमिका हुन्थ्यो ।

मेडलिनमा जन्मेका एस्कोबार गृह क्षेत्रलाई आफ्नो गैरकानुनी धन्धा र राजनीतिको केन्द्र बनाएर कोलम्बियालाई कोकिन कारोबारका उर्वर भूमिका रूपमा दुनियाँभर बद्नाम बनाए । एस्कोबार जस्ता अपराधी राजनीतिमा हावी हुँदा कोलम्बिया संकटमा पर्‍यो । समाजमा अपराधीहरूको प्रभाव बढ्यो । एस्कोबार मारिएपछि पनि लामो समयसम्म त्यहाँको राजनीतिमा अपराधीहरू प्रभावशाली बने ।

राजनीतिमा अपराधीहरूको सोझो प्रवेशले समाजमा धेरै र दूरगामी नकारात्मक असर परेका उदाहरण छन् । कुनै बेला भारतको बिहारमा राजनीतिमा अपराधीहरूको प्रभाव कतिसम्म बढ्यो भने हत्या, लुटपाट र अपहरणमा संलग्नहरू मन्त्री बने । गुन्डागर्दी र आपराधिक घटना हदैसम्म बढ्यो । बिहारको राजनीति सुधार्न वर्तमान मुख्यमन्त्री नीतिश कुमारलाई हम्मे पर्‍यो । नेताहरूले एकअर्कालाई कमजोर बनाउन अपराधीको साथ लिएकाले जनताले मूल्य चुकाउनु पर्‍यो । अपराधीहरूलाई राजनीतिबाट टाढा राख्न हिंसाको सहारासमेत लिइयो । राजनीतिमा प्रत्यक्ष संलग्न धेरै अपराधीहरू मारिए । राजनीतिक प्रभाव देखाउन खोज्ने नाम चलेका अपराधीहरू ‘प्रहरी भिडन्त’ मा मारिए । अहिले राजनीतिमा अपराधीहरूको प्रभाव कमजोर भए पनि बिहारमा विगतको असर बाँकी नै छ ।

चुनावमा अपराधी

राष्ट्रको दूरगामी हितको सशक्त विचार र विकासको एजेन्डासहितको राजनीतिको साटो पैसा र पाखुराको राजनीति हुन थालेपछि चुनाव लड्ने पात्रहरू त्यस्तै हुन्छन् । नेपाली राजनीतिमा चुनावमा पात्र र प्रवृत्ति बदलिँदै गएका छन् । आपराधिक पृष्ठभूमि भएका र भ्रष्टहरूको राजनीतिमा बढ्दो आकर्षणले चुनाव खर्च ह्वात्तै बढाइदिएको छ । इमानदार नेता-कार्यकर्ताले चुनाव लड्ने आँट गर्न नसक्ने अवस्था उत्पन्न भएको छ । अकासिँदो चुनावी खर्चका कारण दलहरू सकभर आफ्नै खर्चमा चुनाव लड्न सक्ने उम्मेदवार खोज्न थालेका छन् ।

लामो राजनीतिक अनभुव बटुलेका सिद्धान्तवान् नेता-कार्यकर्ता पाखा लगाइएका छन् । पार्टी र नेताविशेषलाई आर्थिक लाभ पुर्‍याउन सक्ने उम्मेदवारहरूको राजनीतिमा बढ्दो प्रवेशले अपराधीका लागिसमेत ढोका खुला भएको छ । जसरी पनि जित्नुपर्ने सोचले चुनावका लागि दलहरूले आपराधिक गतिविधिमा संलग्नलाई रातो कार्पेट ओछ्याउन थाले । चुनावी प्रतिस्पर्धाका लागि टोले गुन्डादेखि ठूला आपराधिक समूहका नाइकेहरूलाई पार्टीमा भित्र्याए । दलहरूको युवा सम्बद्ध भ्रातृ संगठनमा अपराधीहरूले संगठित र संरक्षित हुने अवसर पाए ।

नेपाली राजनीतिमा आपराधिक पृष्ठभूमिबाट धन र बल जम्मा गरेकाहरू प्रभावशाली हुने क्रम बढेको छ। लोकतन्त्रको सुन्दरतालाई कुरूप बनाउन त्यस्ता व्यक्तिहरूले भूमिका खेलेका छन् । धन र बलको आडमा पार्टी र राज्यमा प्रभाव जमाइरहने सोच हावी भएकाहरूले अपराधीहरूलाई संरक्षण गरी सहयोग लिइरहेका छन् । सिद्धान्त र निष्ठाको राजनीति नगर्नेहरूले चुनाव जित्न धन र बलको भर पर्छन् । समकालीन नेपाली राजनीतिका शीर्ष नेताहरूमा समेत यस्तो प्रवृत्ति देखिन थालेको छ किनकि उनीहरूको राजनीतिमा सिद्धान्त र निष्ठाको स्थान कमजोर हुँदै गइरहेको छ । त्यसैले उनीहरूलाई चुनाव जित्न आपराधिक पृष्ठभूमिका मानिसहरूको साथ र सहयोग चाहिएको छ ।

नेकपा एमालेले राजीव गुरुङ उर्फ दीपक मनांगेलाई पार्टीमा भित्याएर सांसद बन्ने बाटो सहज बनाइदिँदैछ । एमालेसँग आपराधिक गतिविधि गर्ने कार्यकर्ताको कमी छैन भन्ने दिनेश अधिकारी ‘चरी’ देखि पर्शुराम बस्नेतसम्म उक्त पार्टीको जिम्मेवार तहमा रहेकोबाट पुष्टि हुन्छ। प्रहरी भिडन्तमा चरी मारिँदा एमालेका कतिपय केन्द्रीय नेताहरूले प्रहरी कारबाहीको विरोध गरेका थिए ।

नेपाली कांग्रेसमा प्रवेश गरेर गणेश लामाले प्रदेशसभाको लागि टिकट पाएका छन् ।

आपराधिक पृष्ठभूमिका लामाले राजनीतिक महत्वाकांक्षा पालेर गतिविधि गर्दै आएका छन् । उनी लोकतान्त्रिक फोरममा हुँदा काभ्रेबाट दोस्रो संविधानसभा चुनावसमेत लडेका थिए । कांग्रेसको जिल्ला तहमा सक्रिय आपराधिक पृष्ठभूमिकै रोज राणाले सांसद बन्ने महत्वाकांक्षा प्रदर्शन गर्दै आएका छन् । सुन तस्करीमा संलग्न संदिग्ध रसुवाबाट कांग्रेसको टिकटका लागि सिफारिस भएका थिए ।

गणतन्त्र स्थापनापछि झन् आपराधिक पृष्ठभूमिका गुन्डानाइकेहरूले राजनीतिमा सोझै स्थान बनाउन थालेका छन्। सञ्जय शाह ‘टक्ला’ को उदयलाई उदाहरणको रूपमा लिन सकिन्छ। जनकपुर मुकाम बनाएर आपराधिक क्रियाकलाप गरेका उनी दुईपटक चुनाव जित्दै राज्यमन्त्रीसम्म बने । सञ्जय कुनै पनि पार्टीको टिकट लिएर चुनाव जित्ने सामथ्र्य बनाउन पुगे । उनीपछि जनकपुर बम विस्फोटमा दोषी पाइए । चुरे भावर पार्टीको नेता बनेका सर्लाहीकेन्द्रित बाबु थापाको प्रभाव उत्तिकै बलियो थियो । उनी न्यायाधीश रणबहादुर बम हत्यामा दोषी पाइए । अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग नाम जोडिएकाहरू सांसद हुँदै मन्त्रीसम्म बनेको इतिहास छ । मन्त्री र सांसद भइसकेका खोभारी राय काठमाडौंमा गोली चलाएर पटकपटक विवादमा तानिए ।

राजनीतिमा ‘अपराधी’ हरूको सोझो प्रवेशले दलभित्रका नेताविशेषलाई अल्पकालीन लाभ दिए पनि देशले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । त्योभन्दा दुःखद र दूरगामी असर सामान्य जनतामा जानु गलत सन्देश हो । सर्वसाधारणले देशको नेतृत्व लिन कस्सिनेहरूलाई अपराधीका संरक्षक देखेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत