सर्वोच्चमा बम भएको हल्लापछि आजको तारिख भोलिलाई सर्‍यो

५ मंसिर ०७४, काठमाडौं । सर्वोच्च अदालतमा बम भएको हल्ला चलेपछि मंगलबारका लागि तोकिएका सबै इजलास बन्द भएका छन् ।

मंगलबारका लागि तोकिएको तारिख बुधबारका लागि सारिएको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिएका हुन् । पन्थीले भने, -‘आज कुनै पनि मुद्दामा सुनुवाइ हुने छैन, आजको मुद्दाको तारिख लिने सेवाग्राहीलाई भोलि उपस्थित हुन सूचित गरिन्छ ।’

सर्वोच्चको प्रशासनले मंगलबारका लागि तोकिएको मुद्दाको सुनुवाइ स्थगित भएको जानकारी गराएको छ ।

सर्वोच्चका रजिष्ट्रार महिन्द्रनाथ उपाध्याय र प्रवक्ता पन्थीलाई अपरिचित व्यक्तिले सर्वोच्चमा बम राखेको जानकारी दिँदै सन्देश पठाएपछि मंगलबार सर्वोच्चमा तनाव भएको हो । उक्त सन्देशमा बम भएकाले सबै इजलास खाली गर्नु भन्ने लेखिएको छ ।

यस्तो सन्देश पाए लगत्तै सुरक्षाकर्मीले माइक मार्फत् न्यायाधीश, कर्मचारी, वकिल सेवाग्राहीलाई सर्वोच्च छाडेर बाहिर निस्किन आह्वान गरेका थिए । यो सूचना लगत्तै केहीबेर सर्वोच्च परिसरमा भागदौड भएको थियो ।

अहिले न्यायाधीश, कर्मचारी, वकिल र सेवाग्राहीलाई अदालतबाट बाहिर निकालेर सुरक्षाकर्मीले तालिमप्राप्त दुई कुकुरका साथमा इजलासमा अनुसन्धान गरिरहेका छन् । सन्देशमा पठाइएजस्तो विष्फोटक वस्तु अर्थात् बम भने नभेटिएको अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत