आयोगद्वारा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन

६ मंसिर ०७४, काठमाडौं । निर्वाचन आयोगले  निर्वाचन विरोधी हिंसात्मक घटना दिनदिनै हुन थालेपछि सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको छ ।

मंगलबार निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको हो ।

आयोगले उम्मेदवार, दलका नेता, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, मतदान सामग्री र निर्वाचन कार्यालयको भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मौन अवधि सुरु भएपछि थप सजगता अपनाउनुपर्ने, मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्ने गरी काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

मंसिर १० को पहिलो चरण निर्वाचन नजिकिएका बेला आयोगले उच्च सुरक्षा सतर्कताको अपेक्षा राखेको हो । सुरक्षा व्यवस्था कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई कडा निर्देशन दिइसकेको छ । गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सुरक्षामा राज्यका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिइसकेका छन् ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा सुरक्षा अधिकारीसँग छलफल गरेको बताए । ‘निर्वाचनलाई बाधा पुर्‍याउन केही छिटपुट घटना गराइएका छन् । त्यसको पूर्वआकलन पनि थियो,’ उनले भने, ‘त्यही सन्दर्भमा अहिलेसम्मको सुरक्षा स्थिति र कहाँ–कहाँ सुरक्षा ल्याप्सेस हुन पुगेको हो भन्ने विषयमा समीक्षा गरिएको हो ।’

आयुक्त शाहले नेपाली सेनाको नेतृत्वमा संयुक्त गस्ती परिचालन हुने बताए । सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सेनाले आवश्यकता अनुसार हवाई पेट्रोलिङसमेत गर्ने उनले जानकारी दिए ।  सुरक्षा निकायबीच सूचना संकलन तथा आदानप्रदान, सहकार्य र समन्वय प्रभावकारी ढंगले हुनुपर्ने आयोग पदाधिकारीको सुझाव थियो । शाहले भने, ‘सुरक्षा निकायले तयार पारेको सुरक्षा योजनालाई थप प्रभावकारी ढंगले कार्यान्वयन र सुरक्षाकर्मी चनाखो भई कार्यक्षेत्रमा खटिनुपर्ने आयोगको सुझाव थियो ।’

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी शरद गिरी सहभागी थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत