ताप्लेजुङको भानु जन मावि मतदान केन्द्रमै बम बिष्फोट

९ मंसिर ०७४, काठमाडौं । ताप्लेजुङ जिल्लाको सदरमुकाममा रहेको भानु जन मावि मतदान स्थलमै बम बिष्फोट भएको छ ।

भोलि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि मतदान केन्द्र निर्माणमा कर्मचारीहरुले मतदाता लाइन लाग्ने ठाउँ बनाउनका लागि बाँस गाड्ने क्रममा जमिनमुनि गाडिराखेको बम विस्फोट भएको हो ।

मतदान अधिकृत कुवेर नेपालीले कर्मचारीहरु काममा जुटिरहेकै समयमा ठूलो आवाजसहित बम विस्फोट भएको बताए ।  बम विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि नजिकै मतदाता परिचय पत्र वितरण गरिरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको नेपालीले जानकारी दिए ।

विद्यालयको भवन अघि खेल मैदानमा म्यादि प्रहरी, कर्मचारीसहित सुरक्षा निकाय मतदान केन्द्र निर्माणमा जुटिरहेको समयमा जमिनमुनि गाडेको खाना पकाउने भाँडा कसौडीमा राखेको बम विस्फोट भएको प्रहरीले बताएको छ । बम पहिलेनै गाडिएको र अहिले खन्ने क्रममा प्रेसर हुँदा पड्किएको हुन सक्ने प्रहरीको भनाइ छ ।

अहिले बम विस्फोट भएको स्थानको नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत