नेपाली बजारमा बढ्यो प्याजको मूल्य

११ मंसिर ०७४, काठमाडौं । प्याजको निर्यातदर घटाउन भारतले निर्यातसम्बन्धी नयाँ नीति ल्याएपछि नेपाली बजारमा प्याजको मूल्य बढेको छ ।

भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि नेपाली बजारमा प्याजको मूल्य बढेको हो ।

मागअनुसार प्याज नहुँदा भारतमै प्याजको ठूलो अभाव भएपछि सरकारले निर्यातमा अंकुश लगाउन न्यूनतम निर्यात मूल्य ताकेको हो ।

कार्तिक अन्तिम सातातिर प्रतिकिलो ६४ रुपैयाँ खुद्रा मूल्य रहेको प्याजको थोक मूल्य कालिमाटी बजारमा सोमबार ९५ रुपैयाँमा पुगेको छ ।

भारतको विदेश व्यापार महानिर्देशनालयले प्रतिटन प्याज निर्यात गर्दा ४६ हजार चार सय ९२ नेपाली रुपैयाँ (८५० डलर) एमईपी प्रणाली लागू गरेको छ ।

गत साता लागू भएको यो प्रणाली आगामी पुस १६ गते (३१ डिसेम्बर) सम्म कार्यान्वयन हुनेछ । भारतमा उत्पादन भइरहेको नयाँ प्याज पुस १६ पछि बजारमा आउन सुरु हुनेछ ।

भारतमै स्थानीय प्याज अपुग भएको अवस्थामा त्यहाँका थोक व्यापारीले नेपालसहित बंगलादेश र पाकिस्तानमा गर्दै आएको निर्यात घटाउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

भारतमा उत्पादन भएको प्याज केही महिनाअघिको बाढीका कारण खेतमै नष्ट भएको र प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत