हुम्लामा तारा एयरको जहाज दुर्घटना

१२ मंसिर ०७४, काठमाडौं । हुम्लाको सिमकोट जहाजस्थलबाट सुर्खेतका लागि उडेको तारा एयरको ट्वीनअट्टर जहाज दुर्घटना भएको छ ।

मंगलबार बिहान करिव ८ बजेर ४० मिनेटमा उड्ने क्रममा तारा एयरको जहाजको  बायाँ साइडको टायर पन्चर भएपछि हुम्लाको सिमकोट जहाजस्थलको दक्षिणी भागमा दुर्घटना भएको हो ।

जहाजमा चालक दलका सदस्य सहित १६ जना यात्रु थिए । जहाजमा सवार १६ मध्ये चार जना घाइते भएका छन् भने १२ सकुशल रहेको सिमकोट जहाजस्थलका प्रमुख भीमदत्त पन्तले बताए । जहाज दुर्घटना भए लगत्तै सबै यात्रुको उद्धार गरी जिल्ला अस्पतालमा लगिएको थियो ।
गत आइतबार हुम्लामा चुनावी सुरक्षाको लागि खटिएका १३ जना जनपद प्रहरी चुनाव सकिएपछि सुर्खेत ओर्लँदै थिए ।

दुर्घटनामा घाइते भएका प्रहरी सहायक निरीक्षक यमप्रसाद दाहालको पेटमा समस्या देखिएकोले जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगंज लगिएको छ भने दुर्घटना परी पेटको दायाँ भागमा चोट लागेकी एयर होस्टेज श्रेया श्रेष्ठलाई पनि प्रारम्भिक उपचारपछि नेपालगंज लगिएको छ  ।

दुर्घटनामा जहाजका क्याप्टेन बसन्त लामा र को-पाइलट अमित गुरुङको नाकमा चोट लागेको थियो । उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि तारा कै अर्को जहाजबाट नेपालगंज लगिएको छ ।

प्रत्यक्षदर्शी नयाँ भैरवी दल गुल्मका गुल्मपती कमल केसीका अनुसार यात्रु भरेर सुर्खेतका लागि टेकअफ रनिङ भइसकेको जहाजको एकसय मिटर अगाडि बढिसकेपछि टायर पन्चर भएकाले पाइलटले एयरपोर्ट कै तीन ठाउँमा ब्रेक लगाउन खोजेको  तर जहाज नरोकिएको बताए ।

उनले भने, ‘त्यसपछि जहाज डेढसय मिटर अगाडि हुत्तिएर एयरपोर्टको दक्षिणी भागको भिरालोमा पुग्यो र फेरि जहाज पश्चिम फर्कियो ।’ दुर्घटनास्थलबाट ५ मिटरको दुरीमा स्थानीयको घर रहेको छ । घरमा मानिसहरु घाम तापेर बसिरहेका थिए । जहाजको ककपिट पूर्ण रुपमा क्षति भएको छ । जहाजको तीन वटै टायर र दायाँ पखेटामा केही क्षति पुगेको छ । दुर्घटनास्थलमा प्रहरीका सामान तथा हतियारहरु छरिएर छन्

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत