ग्यासबाट चल्ने टेम्पु र माइक्रो सञ्चालनमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

१३ मंसिर ०७४, काठमाडौं । ग्यासबाट चल्ने टेम्पु र माइक्रो बसलाई सञ्चालनमा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार सर्वोच्चले वातावरणमैत्री ग्यासबाट सञ्चालित सवारी साधनलाई नियमित सञ्चालन गर्न, नवीकरण र रुट परमिट नदिने कार्यको लागु नगर्न र तत्काल पत्र नगर्न भनी अन्तरिम आदेश जारी गरेको हो ।

ग्यासबाट चल्ने माइक्रो र टेम्पो ३० बर्ष हुनु पर्ने माग गरिए पनि सर्वोच्चका न्यायाधीश तेजबहादुर केशी र पुरुषोतम भण्डारीले २० बर्ष पुरानालाई तत्काल कुनै पनि बाधा नपुर्‍याउन अन्तरिम आदेश दिएको हो ।

वातवरणमैत्री भएकाले सरकारले गत भदौ २८ मा ब्याट्रीबाट चल्ने सफा टेम्पुको आयु ३० बर्ष कायम गरेको थियो । तर, ग्यासबाट चल्ने यी साधनलाई संरक्षण गरेको भन्दै अदालतमा सुरेन्द्र थापासहित ११ जनाले निवेदन दर्ता गरेका थिए ।

वातावरणमैत्री मानिएको विद्युतीय सवारी साधनलाई १० वर्ष म्याद थप गरी ३० बर्ष पुर्‍याएको भन्दै व्यवसायीले ग्यासबाट सञ्चालन हुने टेम्पो र माइक्रोबसलाई नविकरण, इजाजत दिन माग गर्दे आएको छ ।

यता सरकारले उपत्यकामा २०७३ फागुनदेखि र देशव्यापी रुपमा २०७४ फागुन ३० गते देखि २० बर्ष पुराना गाडी सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।

सरकारले २०७१ फागुन १८ गते राजपत्रको भाग ५ मा सूचना प्रकाशित गरी सार्वजनिक सवारी साधन (मालवहाक, यात्रुबहाक) को आयु अधिकतम २० बर्ष तोकेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत