मतदाता शिक्षाको नाममा करोडौं विनियोजन, प्रभावकारिता शून्य

१३ मंसिर ०७४, तनहुँ । निर्वाचन आयोगले मतदाता शिक्षाको नाममा करोडौं बजेट विनियोजन गरेर मतदाताहरुलाई शिक्षा दिइएको बताए पनि मतदाताहरुले त्यसबारे अनभिज्ञता प्रकट गरेका छन् ।

 

तनहुँ प्रनिनिधि सभा २, प्रदेश सभा २ (१) का जनताहरुले निर्वाचन आयोगले दिने मतदाता शिक्षाबारे अनभिज्ञता प्रकट गरेका हुन् ।

मतदाताहरुलाई शिक्षा दिने नाममा निर्वाचन आयोगले करोडौं बजेट विनियोजन गरे पनि तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ का मतदाता सोमबहादुर थापाले आफ्नो गाउँमा आयोगका कुनै प्रतिनिधि तथा स्वयंसेवकहरु मतदाता शिक्षा दिन नआएको बताए ।

‘सरकारले मतदाता शिक्षाका लागि करोडौँ रुपैयाँ विनियोजन मात्र होइन, खर्च गरेको भए पनि त्यसको प्रभावकारिता गाउँ तहसम्म पुग्न सकेको छैन्’ मतदाता थापाले भने, ‘राजनीतिक दलका उम्मेदवारहरु र कार्यकर्ता बाहेक अन्य कोही मतदाता शिक्षा दिन आएका छैनन् ।’

निर्वाचन आयोगले मतदाता शिक्षा गाउँमा पु¥याउन नसक्दा वृद्धवृद्धा मतदाताहरुमा अन्यौलता रहेको र मत बदर हुनसक्ने भएकाले मतदाता शिक्षाका नाममा भत्ता खानेहरु जनताको घर दैलोमा पुग्नै पर्नेमा मतदाता थापाले जोड दिए ।

उनले भने, ‘मतदाता शिक्षाका नाममा खटिएकाहरु मतदाताहरुका घरदैलोमा पुग्नै पर्दछ, भत्ता खाएर दिन कटाउन पाइँदैन ।’

मतदाता शिक्षा दिने स्वयंसेवकहरु गाउँघर भन्दा पनि शहर- बजारमुखी मतदातामा केन्द्रीत भएकाले ग्रामिण जनतामा नपुगेका हुन कि ? उनले थप जिज्ञासा समेत व्यक्त गरे ।

निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवक गाउँमा परिचालन गरेको बताए पनि गाउँ–गाउँमा मतदाता शिक्षा दिन उनीहरु पुगेको देखिँदैन ।

म्याग्दे गाउँपालिका वडा नम्बर १ का मतदाता मिनबहादुर बाचे मगरले पनि अहिलेसम्म गाउँमा निर्वाचन कार्यालयका कुनै पनि प्रतिनिधि र स्वयंसेवक मतदाता शिक्षा दिन भनेर नआइपुगेको बताए ।

यसैगरी सोही गाउँपालिकाका वडा नम्बर ३ का मतदाता होम बहादुर आलेले पनि राज्यबाट मतदाताहरुलाई शिक्षा दिने नाममा करोडौं बजेट विनियोजन भएको सुनेको तर पृथ्वी राजमार्गको छेउमै रहेको आफ्नो गाउँमा मतदाता शिक्षाका लागि भनेर कुनै स्वयंसेवक नआएको जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुने दिन मंसिर २१ गते आउन एकसाता मात्रै बाँकी हुँदा पनि सरकार र निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा विनियोजन गरेको करोडौं रुपैयाँ खर्च कहाँ कसरी भएको छ भन्ने आम चासो खोजीको विषय बनेको छ । साथै, मतदाताहरुलाई कतिवटा मतपत्र हुन्छन् ? कुन मतपत्रमा कति स्वस्तिक छाप चिह्न लगाउने ? कसरी प्रवेश हुन्छ ? कसरी मतदान गरी बाहिरिने लगायतका विषयमा अहिलेसम्म जानकारी नहुँदा मतपत्र बदर हुने देखिन्छ ।

अझैसम्म मतदाता शिक्षा दिने समय रहेकाले चरणबद्धरुपमा कार्यक्रम लिएर मतदाताको घर घरमा स्वयंसेवक पुग्न नसके पनि सामुहिक रुपमा मतदाता शिक्षा बारे जानकारी दिनु पर्ने म्याग्दे गाउँपालिकाका मतदाताहरुको गुनासो रहेको छ ।

निर्वाचन कार्यालयले भने मतदाता शिक्षा कार्यक्रम लिएर गाउँगाउँमा स्वयंसेवक परिचालन गरिएको र समय थोरै भएकाले सबै मतदाताको घरमा कर्मचारी पुग्न नसकेको बताएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षा र तालिमका लागि एक अर्ब ४२ करोड ५९ लाख ६३ हजार रुपैयाँ छुट्याइएको छ ।

आयोगले मतदाता शिक्षामार्फत् मत खसाल्ने तरिका सिकाएर मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

  •  
    7
    Shares
  • 7
  •  
  •  
  •  

तपाइको मत