उम्मेदवारी फिर्ता लिनुस् बाम गठबन्धन सरकारले तपाईंलाई फेरि पनि सीईओ बनाउने छ – मणि थापा

१५ मंसिर ०७४, प्युठान । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य मणि थापाले नेपाली कांग्रेसका तर्फबाट प्यूठान प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई समर्थन गर्न सुझाव दिएका छन् ।

प्युठानको बरौंलामा आयोजित जनसभालाई सम्वोधन गर्दै नेता थापाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ पदबाट राजीनामा दिएर कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पोखरेललाई उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई समर्थन गर्न सुझाव दिएका हुन् ।

नेता थापाले भने, ‘तपाईंलाई वाम गठबन्धनकै सरकारले फेरि पनि प्राधिकरणको सीईओ बनाउने छ । आफ्नो उम्मेदवारी विथ ड्र गरेर वाम गठबन्धनलाई समर्थन गर्नुहोस् ।’

भूकम्प प्रभावितहरुलाई अलपत्र छोडेर राजनीतिमा आएका डा. पोखरेलको आलोचना गर्दै नेता थापाले ‘चुनाव सकिएपछि फेरि कुन एनजीओमा जागिर खाने भन्ने चिन्ता गर्दै हुनुहुन्छ ?’ भनी पाेखरेललाई प्रश्न समेत गरे ।

पुसको पहिलो साता मुलुकले वाम एकताको बहुमतको सरकार पाउने थापाको भनाइ छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत