कामचलाउ सरकारका नियुक्ति र निर्णय नयाँ सरकारले मान्दैन – एमाले

कामचलाउ सरकारद्वारा सरकारी संस्थानमा नयाँ नियुक्ति

२५ मंसिर ०७४, काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै चलाउन बनिसकेको काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ ।

मन्त्रिपरिषदको सोमवारको बैठकले सञ्चारमन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।

बैठकले गोपाीकृष्ण भूमिजकी सञ्चालक निकिता पौडेललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

त्यस्तै गोरखापत्र संस्थानकै कर्मचारी साथै कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गरिएको छ ।

सञ्चारमन्त्री बस्नेतले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव लगेका थिए । तर सो प्रस्ताव भने सोमवारको बैठकमा निर्णय भएको छैन ।

कामचलाउ सरकारका नियुक्ति र निर्णय नयाँ सरकारले मान्दैन

नयाँ निर्वाचनबाट देशको पहिलो दल बनेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले कामचलाउ सरकारले बिभिन्न संस्थानमा राजनीतिक नियुक्ति गर्न थालेको भन्दै आपत्ति जनाएको छ ।

शेरवहादुर देउवा सरकारले गरेका पछिल्ला नियुक्ति र निर्णयहरुको निरन्तरता कुनै पनि हालतमा हुन नदिने एमालेले प्रष्ट पारेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले सोमवार विज्ञप्ति जारी गरि काम चलाउ हैसियतमा सीमित हुन पुगेको सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको/गर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

एमालेले कामचलाऊ सरकारलाई मनपरी निर्णय गर्नबाट कर्मचारी नेतृत्वलाई समेत सचेत गराएको छ ।

महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौं ।’

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको भन्दै एमालेले यो सरकारले गरेका जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने प्रष्ट पारेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत