तनहुँ जिल्ला बन्यो, बाम गठबन्धनको किल्ला !

२४ मंसिर ०७४, तनहुँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार सबै क्षेत्र र प्रदेशमा विजयी भएसँगै तनहुँ  बाम गठबन्धनको किल्ला बनेको छ ।

तनहुँमा वाम गठबन्धनका कृष्ण बहादुर श्रेष्ठ ‘किसान’ क्षेत्र नम्बर १ बाट र सोही गठबन्धनका उम्मेदवार केदार सिग्देल क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

श्रेष्ठले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई र सिग्देलले काँग्रेसकै नेता शंकर भण्डारीलाई पराजित गरेर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

श्रेष्ठले ३४ हजार ४९२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

यसैगरी पौडेलले २७ हजार ६९० मत पाएका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र न २ मा नेकपा एमालेका केदार सिग्देलले नेपाली कांग्रेसका नेता शंकर भण्डारीलार्इ ३३ सय मतले पराजित गरेका छन् ।

सिग्देल ३२ हजार ९ सय २४ मत ल्यार्इ निर्वाचित भएका हुन् भने उनका प्रस्तिस्पर्धी  भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी बाम गठबन्धनबाट तनहुँ प्रदेश सभा १ (१) मा हरि बहादुर चुमान र प्रदेश सभा १ (२) मा रामबहादुर गुरुङ विजयी भए ।

यस्तै प्रदेश सभा २ (१) मा माओवादी केन्द्रकी नेतृ एवम् वाम गठबन्धनकी उम्मेदवार आशा कोइराला खनालले काँग्रेसका नेता प्रदिप पौडेललाई पराजित गरिन भने प्रदेश सभा २ (२) मा काँग्रेसका धुर्व वाग्लेलाई वाम गठबन्धनका उम्मेदवार किरण गुरुङले फराकिलो मतअन्तरले पराजित गरे ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमार्फत् पहिलो पटक तनहुँमा कम्युनिष्टहरुले आफ्नो वर्चस्व कायम गरेका छन् भने तनहुँलाई आफ्नो गढ मान्दै आएको नेपाली काँग्रेसले पहिलो पटक सबै पदबाट हात धुनु परेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत