संसदीय चुनावमा सापकोटा र पशुपतिको फरक–फरक ह्याट्रिक

२६ मंसिर ०७४, सिन्धुपाल्चोक । जनयुद्धपछि संसदीय चुनावमा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले लगातार तीन चुनाव जितेर ह्याट्रिक गरेका छन् भने ३ निर्वाचनमा लगातार पराजित भएर राप्रपा नेता पशुपतिशमशेर राणाले पनि ह्याट्रिक गरेका छन् ।

निर्वाचन मनोनयकै दिन सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्टहरुलाई ह्याकुलाले पेलेरै भए पनि चुनाव जित्ने उद्घोष गरेपछि पेचिलो बनेको सिन्धुपाल्चोकको निर्वाचन अन्ततः ह्याकुलाको पराजय भएको छ ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा २० हजार मतान्तरले चुनाव जितेका माओवादी नेता अग्नि सापकोटाले ०७० को संविधानसभा निर्वाचनसम्म आइपुग्दा मतान्तर निकै घटाएका थिए ।

२०७० मा साढे ६ सय मतान्तरले चुनाव जितेका सापकोटाले ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भने आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई १० हजार ८ सय ६ मतले पछि पार्दै चुनाव जितेका छन् ।

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कुल ७८ हजार ६ सय ९६ मत खसेको थियो । ७३ हजार २ सय ४८ मत सदर भएकोमा सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदै विजयी भए ।

उनका प्रतिद्वन्द्वी मोहन बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याएका थिए । मतगणना सुरु भएदेखि नै अग्रता कायम गरेका सापकोटालाई बस्नेतले एकपटक पनि पछि पार्न सकेनन् ।

मतपरिणाम सार्वजनिक हुनु केही समय अघि बस्नेतले मतगणना स्थल छाडेका थिए । २१ गते बेलुकी साढे ५ देखि सुरु भएको मतगणना शनिबार बिहान सकिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत