समानुपातिकतर्फको मतगणना सकियो, पाँच पार्टी मात्रै राष्ट्रिय दल बन्न सफल

२ पुस ०७४, काठमाडौं । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छ ।

प्राप्त मत परिणाम अनुसार, एमालेले ३१ लाख ७३ हजार ४९४ मत, कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत, नेकपा (माओवादी केन्द्र) ले १३ लाख ३ हजार ७२१ मत पाएका छन् ।

थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ७२ हजार २५४ मत तथा संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार १०१ पाएका छन् ।

प्रतिनिधिसभामा भने प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक-एक सिट जितेका छन् ।

दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ ।

समानुपातिकको अन्तिम नतिजा अनुसार तीन प्रतिशत थे्रस होल्ड कटाउनु पर्ने व्यवस्थाका कारण नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र मधेसी जनअधिकार फोरम मात्रै राष्ट्रिय दल बन्न सफल भएका छन् ।

 मंसिर १० र २१ गते भएको प्रतिनिधिसभामा देशभर कुल १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका गणना सकिएको औपचारिक घोषणाको तयारी भइरहेको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत