रसुवागढीको महत्व नबुझ्दा नेपाल आर्थिक रूपमा पछाडि – ओली

५ पुस ०७४, रसुवा । एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवागढीको महत्व नबुझ्दा नेपाल आर्थिक रूपमा पछाडि परेको बताएका छन् ।

मंगलबार बिहान महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङसहित २४ नेता लिएर चार वटा हेलिकोप्टरमा चिनियाँ नाका रसुवागढी पुगेका एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

उनले यो नाकालाई नेपाल–चीन आयात–निर्यातको मुख्य मार्ग बनाउने बताउँदै अब देश विकासको ढोकासमेत बनाई छाड्ने बताए ।

रसुवागढीको महत्व नबुझ्दा नेपाल आर्थिक रूपमा पछाडि परेको भन्दै एमाले अध्यक्ष ओलीले राष्ट्रिय विभूति भृकुटी हिँडेको यो नाकामार्फत नेपाल–चीन साइनो ‘अझै विश्वसनीय बनाउने’ बताए ।

टिमुरेमा चिलिमे जलविद्युत र रसुवागढी जलविद्युत गृह निर्माणको अवस्थाबारे चासो व्यक्त गर्दै ओलीले भने, ‘यही नाकाबाट हामी नेपालसम्म चीनको रेल लैजान्छौं । जटिल भूगोल भएकाले यहाँ केबुलकार पनि चलाउने प्रक्रिया अघि बढिसकेको छ ।’

चीनले यो नाकालाई सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिइसकेको छ ।

एमाले अध्यक्ष ओलीकाअनुसार अब बन्ने कम्युनिष्ट सरकारले चीनको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौं–लुम्बिनी रेलमार्ग बनाउने छ । साथै, यो नाकामा आगामी सरकारको ध्यान केन्द्रित हुनेछ ।

यद्यपि, स्थानीयले एमाले अध्यक्ष ओलीसँग यो नाकालाई मानसरोबर जाने मार्गका रूपमा विकास गर्न माग गरेका छन् ।

०७२ असोजमा जारी नयाँ संविधानप्रति असन्तुष्ट जनाउँदै भारतले नाकाबन्दी थालेको तीन सातापछि तत्कालीन प्रधानमन्त्री ओलीले चीनबाट हजार मेट्रिक टन पेट्रोल अनुदानमा ल्याएर भारतनिर्भरता तोड्ने प्रक्रिया सुरु भएको बताएका थिए ।
रसुवामा एमाले अध्यक्ष ओलीसहितका नेताले मंगलबार सात घन्टा बिताएका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत