प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा करिब २० अर्ब रुपैयाँ खर्च !

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सरकारले करिब २० अर्ब रुपैयाँ खर्च गरेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनका लागि सरकारले गृह मन्त्रालय, निर्वाचन आयोग र अन्य सरकारी निकायमार्फत १९ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ खर्च गरेको अर्थ सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए ।

यो मध्ये १० अर्ब रुपैयाँ निर्वाचन आयोगले चुनाव व्यवस्थापनमा खर्च गरेको हो ।

दुई चरणमा सम्पन्न निर्वाचनबाट प्रदेशसभामा पाँच सय ५० र प्रतिनिधिसभामा दुई सय ७५ सांसद चुनिएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ एक सय २८ र प्रदेशसभातर्फ दुई सय ५६ गरी जम्मा तीन सय ८४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ ।

मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ क्षेत्रमा मतदान भएको थियो ।

सरकारले मंसिर १० र २१ गतेको चुनावी सुरक्षाका लागि ९८ हजार एक सय ६८ म्यादी प्रहरी भर्ना गरेको थियो । उनीहरूको तलब, भत्ता र अन्य सुविधाका लागि पाँच अर्ब तीन करोड खर्च भएको अर्थ मन्त्रालयको हिसाब छ ।

गृह मन्त्रालयले सुरक्षा व्यवस्था मजबुद बनाउन, सुरक्षा र प्रशासनिक खर्च गर्न नेपाल प्रहरीले दुई अर्ब ७७ करोड ४५ लाख खर्च भएको छ । यसमा गृह मन्त्रालयले चुनावको व्यवस्थापनमा आठ करोड २१ लाख र नेपाल प्रहरीतर्फ दुई अर्ब ६९ करोड २४ लाख खर्च भएको छ । यसैगरी सशस्त्र प्रहरीले एक अर्ब १६ करोड खर्च गरेको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सशस्त्र प्रहरीले एक अर्ब १६ करोड ३७ लाख खर्च गरेको छ ।

निर्वाचनका बेला चौथो घेरामा रहेको नेपाली सेनाले ८४ करोड ७५ लाख खर्च गरेको छ । निर्वाचनका बेला उच्च जोखिम, हिमपात तथा बाटोको पूर्वाधार निर्माण नभएका स्थानमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री र मतपेटिका ल्याउने कार्य गरिएको थियो ।

निर्वाचनमा निर्वाचन आयोगले निर्वाचन सामग्री, मतदाता शिक्षा, अन्य कार्यक्रमको अनुगमन तथा मूल्यांकनका लागि खर्च गरेको हो । आयोगले प्रतिनिधि, प्रदेशसभा र समानुपातिकका लागि एक करोड ७४ लाख/एक करोड ७४ लाख मतपत्र छापेको थियो । तीन वटा प्रतिनिधिका लागि पाँच करोड २२ लाख मतपत्र छापिएको थियो । निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने न्यायाधीश, जिल्ला न्यायाधीश, मुख्य निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतलगायत निर्वाचनका लागि खटिने सबै कर्मचारीका लागि खर्च गरिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा घुमघामका लागि दुई अर्ब २६ करोड ६५ लाख खर्च गर्ने योजना बनाएको थियो । निर्वाचनका लागि खटिने कर्मचारीको भ्रमण शीर्षकमा यो खर्च गर्ने योजना आयागले बनाएको हो । निर्वाचन आयोगले विभिन्न कार्यक्रममा तीन अर्ब सात करोड ७४ लाख खर्च छुट्याएको थियो ।

निर्वाचनका बेला गरिने भ्रमणका लागि दुई अर्ब २६ करोड ६५ लाख छुट्याएको थियो । निर्वाचनका बेला निर्वाचन कार्यालयका लागि दुई अर्ब २३ करोड ५० लाख खर्च व्यवस्था गरिएको थियो । अन्य भत्ता एक अर्ब ७५ करोड २३ लाख, अनुगमन मूल्यांकन खर्च १९ करोड आठ लाख, सञ्चालन तथा मर्मत सम्भार ११ करोड दुई लाख र बिमा १५ करोड घरभाडालगायत शीर्षकमा खर्च गर्ने गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत