प्रदेशको प्रस्तावित अस्थायी राजधानीको खाका तयार

१८ पुस ०७४, काठमाडौं । सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी राजधानीको खाका तयार गरिएको बताए ।

प्रवक्ता पन्थीले भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले अस्थायी  मुकाम तोकिएको बताए ।

प्रदेश नं. १ को अस्थायी केन्द्रको रुपमा विराटनगर, प्रदेश नं. २ को जनकपुर, प्रदेश नं. ३ को भक्तपुरको ठिमी(ललितपुरमा पनि अध्ययन भएको),  प्रदेश नं. ४ को पोखरा, प्रदेश नं. ५ को लमही र घोराही मध्ये एक, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं.७ को धनगढीलाई तोक्न सिफारिस गरिएको छ ।

प्रदेश नंं २ को प्रदेश सभाको सम्भावित बैठक स्थलको रुपमा जनकपुर चुरोट कारखानाको कार्यालय, प्रदेश नं. ४ को नगर विकासको कार्यालय, प्रदेश नं. ६ को सभागृह र प्रदेश नं.५ को लमहीमा रहेको सिंचाई कार्यालयलाई बैठक स्थलको रुपमा प्रस्ताव गरिएको छ ।

सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो ।

तयार पारिएको खाकाको अध्ययनपछि मन्त्रिपरिषदले मुकाम तोक्ने आधिकारीक निर्णय लिने छ। अस्थायी रुपमा तोकिएका मुकामबारे प्रदेश सरकारले हेरफेर गर्न सक्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत