बिहीबार यस वर्षकै बढी चिसो

२० पुस ०७४, काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै बिहीबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेकोले यस वर्षकै बढी चिसो भएको जनाएको छ। यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो ।

मौसमविद् शान्ति कँडेलले काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ , अझ झनै  चिसो  बढ्ने जानकारी दिए। ‘काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ’, उनले भने।

बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ। तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलले बताए ।

आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ। अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ। आज सबैभन्दा कम जुम्लामा ऋणात्मक(माइनस) ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत