समाचारकै विषयलाई लिएर पत्र काट्ने अधिकार प्रहरीलाई छैनः पत्रकार महासंघ

२४ पुस ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ ।

महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आम सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न आग्रह गरेका छन् ।

‘यस किसिमका घटनाले सञ्चार माध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्याउने महासंघको ठहर छ । यस्ता घटना तत्काल रोक्न र यस्ता घटना पुनःनदोहोर्याउन सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता विरोधी यस किसिमका घटना नरोकिएमा महासंघ कठोर संघर्षका कदम चाल्न बाध्य हुनेछ ।’

यसैबीच महासंघले सञ्चार सम्वद्ध विभिन्न संस्थाहरू नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, अनलाइन पत्रकार संघसहितका प्रतिनिधिसँग छलफल गरी नेपाल सरकार, सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चारमाध्यमको स्रोतको गोपनीयताको रक्षाका लागि संयुक्तरूपमा प्रतिवाद गर्ने निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनाका बारेमा महासंघले गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस काउन्सिल नेपाल, सूचना विभाग, नेपाल बार एसोसिएसन, नेपाल प्रहरीका अधिकारीसँग छलफल गरेको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत