निर्देशनलगत्तै कार्यदलले भोलिबाटै काम सुरु गर्ने

२६ पुस ०७४, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम सुरु गर्ने भएको छ ।

बुधबार एमाले अध्यक्ष ओली निवास बालकोटमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम सुरु गर्ने भएको हो ।

बैठकका बारेमा जानकारी दिँदै कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा भोलिबाटै काम सुरु गर्ने सहमति भएको जानकारी दिए ।

पुनले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको जानकारी दिए । भोलिदेखि नै कार्यदलले सघन रुपमा काम सुरु गर्ने बताए । यो बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उनले दुई पार्टी छिट्टै पार्टी एक हुने दाबी गरे ।

प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट सङ्ख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसदमा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेड पाएको पुनले जानकारी दिए ।

बैठकबारे जानकारी दिँदै एमाले नेता तथा कार्यदल सदस्य शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदललाई तत्काल काम सुरु गर्न निर्देशन दिएका जानकारी दिए ।

नेता पोखरेलले प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको जानकारी दिए । छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष दाहालबीच थप छलफल भएको थियो ।

गठबन्धनले गरेको कार्यदलमा एमालेबाट नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा (बादल), वर्षमान पुन र मातृका यादव रहेका छन् । आजको बैठकका पाण्डे र यादव भने उपत्यकाबाहिर भएकाले बैठकमा उपस्थिति नभएको जानकारी दिएको छ ।

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत