एमबीबीएस परीक्षाको प्रश्नपत्र चुहावटमा ६ जना दोषी ठहर

२७ पुस ०७४, काठमाडौं । विशेष अदालतले दुई वर्षअघि गोल्डेनगेट कलेजको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई दोषी ठहर गरेको छ ।

बुधवार विशेष अदालतले प्रश्नपत्र चुहावट प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको हो । सो प्रकरणमा आरोपित शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने अदालतले सफाई दिएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले देवीराम पाण्डेलाई ९ महिना कैद तथा ५ लाख ५ हजार जरिवानाको फैसला सुनाएको हो । त्यसैगरी हरिहर भनिने खेचरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय रुपैंया जरिवानाको फैसला भएको छ ।

प्रश्नपत्र आउट गराउने कार्यका संलग्न मुख्य योजनाकार मानिएका प्रभात कुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैंया, धमेन्द्र यादवलाई एक वर्ष कैद र ९ लाख रुपैंया,  जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवानाको फैसला सुनाएको छ ।

वि.स २०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका संचालकको योजनामा प्रश्नपत्र आउट भएको अदालतको ठहर छ । परीक्षाको प्रश्नपत्र गोल्डेनगेटबाट परीक्षा सुरु हुनु भन्दा ६ मिनेट अघि प्रश्नपत्र आउट भएको थियो ।

अख्तियारका अनुसार, गौशाला रातोपुल नजिकै प्रश्नपत्रको क र ख खण्डको १०/१० वटा पाना परीक्षार्थीलाई दिलाईदिन्छु भनी रकमको कारोवार गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए। कलेज सञ्चालकहरुको मिलेमतोमा प्रतिव्यक्ति १० लाख रुपैंयाभन्दा बढीको लेनदेनमा प्रश्नपत्र विक्री भइरहेको सूचनाका आधारमा अख्तियारले अनुसन्धान गरी मुद्दा अघि बढाएको थियो ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत