बारद्वारा प्रधानन्यायाधीशको बचाऊ गर्दै डा.केसीलाई अनसन नबस्न आग्रह

२८ पुस ०७४, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै  डा. गोविन्द केसीलाई अनसन बसेर न्यायालयमाथि दबाव नदिन आग्रह गरेको छ ।

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे आफ्नो धारणा सार्वजनिक गर्दै पराजुलीको बचाउ गरेको हो ।

शुक्रबार विज्ञप्ति जारी गरी बार एशोसिएसनले न्यायपालिकालाई दबाबमा पार्ने गरी अनसन लाई निरन्तरता नदिन समेत अनसनरत डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।

एशोसिएसनले अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बताएको छ । आफू अनुकुल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ समेत गराएको छ ।

बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ । उजुरी परेमा न्याय परिषद्ले अध्ययन गर्ने भन्दै भनेको छ, ‘उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वतज्ध न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ ।’

बार एशोसिएसनले डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ भने पराजुलीको नागरिकता, शैक्षिक प्रमाणपत्र लगातयतका कागजपत्र मगाएकोबारे बोलेको छैन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत