ऐन विपरीत सरकारले तोक्यो प्रदेश प्रमुख !

३ माघ ०७४, काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख तोकेको छ ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोकेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले जानकारी दिए ।

सरकारले प्रदेश प्रमुखको योग्यता सम्बन्धमा बनाएको प्रदेश प्रमुख सम्बन्धी ऐन २०७४ विपरीत नियुक्ति गरेको पाइएको छ ।

सो ऐनमा प्रदेश प्रमुखमा नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्तिलाई प्रदेश प्रमुख नियुक्ति गर्नु पर्ने व्यवस्था छ ।

तर, को कस्ता भए प्रदेश प्रमुख ?

प्रदेश नं १

प्रदेश नं १ को प्रदेश प्रमुखमा विभिन्न आइएनजिओ र एनजिओमा कार्यरत साथै अंग्रेजी विषयका प्राध्यापक धनकुटा निवासी गोविन्द सुब्बा सिफारिस भएका छन् ।

जनतम संग्रहपछि सुब्बाले कम्युनिष्ट राजनीति छाडेर कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रदेश नं २

प्रदेश नं २ को प्रमुखमा महोत्तरी बासी नेपाल सरकारका पूर्व सचिव, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका रत्नेश्वरलाल कायस्थ संघीय समाजावदी फोरमको समानुपातिक सांसदका उम्मेदवार थिए ।

प्रदेश नं ३

प्रदेश नं ३ मा प्रदेश प्रमुखको रुपमा सिफारिस भएकी अनुराधा कोइराला केही समयअघि टीका लगाएर नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

प्रदेश नं ४

प्रदेश नं ४ को प्रदेश प्रमुखको लागि सिफारिस भएका अर्घाखाँचीका बाबुराम कुवँर तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारका महान्यायधिवक्ता हुन् ।

प्रदेश नं ५

प्रदेश नं ५ को प्रदेश प्रमुखमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी उमाकान्त झा सिफारिस भएका छन् ।

उनी खिलराज रेग्मीको नेतृत्वमा रहेको दोस्रो संविधान सभा निर्वाचन गराउने चुनावी सरकारका ऊर्जा मन्त्री रहेका झा पूर्वसिचाई तथा ऊर्जा सचिव हुन् ।

प्रदेश नं ६

बहुदल आएपछि कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेका सुर्खेत निवासी पुराना कांग्रेस नेता दुर्गा केशर खनाल प्रदेश नं ६ को प्रमुखमा सिफारिस भएका छन् ।

प्रदेश नं ७ 

प्रदेश नं ७ को प्रमुख कैलाली निवासी पूर्वराष्ट्रिय पञ्चायतका सदस्य तथा केही समय अघि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गरेका मोहनराज मल्ल सिफारिस भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत