राजपाको कांग्रेस र संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गर्ने निर्णय

८ माघ ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनमा काँग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर जाने भएको छ ।

पार्टीको जारी राजनीतिक समितिसहितको अध्यक्ष मण्डल बैठकले काँग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर जाने औपचारिक निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनमा काँग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर जाने गरी छलफल अघि बढाइएको पार्टीका नेता केशव झाले जानकारी दिए । निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सिट बाँडफाँडको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिइएको पनि नेता झाले प्रस्ट पारे ।

आगामी माघ २४ गते राष्ट्रियसभाको निर्वाचन हुने भएकाले निर्वाचनका लागि मंगलबारसम्म उम्मेदवार तय गरिसक्ने पार्टीको योजना छ । सोही योजनाअनुसार राष्ट्रिय जनता पार्टी, नेपालले गत शनिबार नै काँग्रेस नेतृत्वसँग राष्ट्रियसभाको सिट बाँडफाँडका विषयमा औपचारिक छलफल अघि बढाएको थियो ।

प्रदेश नम्बर २ मा कम्तिमा ५ सिट आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव राष्ट्रिय जनता पार्टी नेपालले काँग्रेससँग राखेको छ । नेता झाका अनुसार उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग पनि चुनावी तालमेलको बारेमा पार्टीका अध्यक्ष मण्डलले औपचारिक, अनौपचारिक छलफल गरिरहेको छ । आगामी माघ १० गते राष्ट्रियसभा निर्वाचनको उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत