प्रदेश नं ३ प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक सम्पन्न, अर्को बैठक माघ २७ मा

१८ माघ ०७४, काठमाडौं । प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठक बसेको छ ।

बिहीबार प्रदेश ३ को प्रदेशसभा बैठक हेटौंडामा बसेको हो । पहिलो बैठकको अध्यक्षता गर्दै ज्येष्ठ सदस्य डोरमणि पौडेलले बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखेका थिए ।

बैठकमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गर्दै प्रदेश नं ३ लाई नमूना बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुपर्ने र जनआकांक्षालाई पूरा गर्न प्रदेशसभा सक्षम हुने विश्वास पनि व्यक्त गरिन् ।

नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने बताए।

नेपाली कांग्रेसका इन्द्र बानियाँले वीरगञ्ज भन्सारसँग जोडिएको र काठमाडौँ हेटौँडा द्रुत मार्ग पनि बन्दै गरेकाले प्रदेशको राजधानी मकवानपुर नै वैज्ञानिक हुने बताए । उनले सहमति, सहकार्य र एकतासहित लोकतान्त्रिक मूल्य मान्यताका साथ अघि बढ्न आग्रह पनि गरे ।

बैठकमा विवेकशील साझा पार्टीका रमेश पौडेल, नेपाल मजदुर किसान पार्टीका सुरेन्दराज गोसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का रीना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रीता माझी र स्वतन्त्र (नयाँ शक्ति नेपाल) सांसद प्रेमबहादुर तामाङले मन्तव्य राखेका थिए ।

बैठकले प्रदेशसभा सञ्चालन नियमावली नबनेसम्मका लागि दलीय सहमतिका आधारमा तयार गरिएको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ लाई सर्वसम्मतिले पारित गर्‍यो ।

बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि यही माघ २७ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ ।

बैठकमा ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि रामेश्वर फुयाँल, धनश्याम दाहाल, गीता शाक्य र शोभा वाग्लेलाई मनोनयन गरिएको छ । प्रदेशसभाको अर्को बैठक यही माघ २७ गते सोमबार दिउँसो ३ बजे बस्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत