नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराज स्वदेश फिर्ता

१९ माघ ०७४, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज नयाँ दिल्ली फर्किएकी छिन् ।

विदेश मन्त्री स्वराज प्रधानमन्त्री शेरबहादुर देउवासँग लन्च मिटिङ गरेर नयाँ दिल्ली फर्किएकी हुन् ।

एमाले अध्यक्ष  केपी शर्माओलीबाट बिहीबार साँझ सुरु गरेको स्वराजको भेटवार्ता अन्तिममा प्रम देउवाको सरकारी निवास बालुवाटारमा पुगेर टुंगिएको थियो ।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा स्वराजले  नयाँ संविधान बनेपछि तीनवटै तहका निर्वाचन सम्पन्न गराएको बधाई दिन आफू नेपाल आएको बताएकी थिइन् ।

प्रम देउवाका विदेश मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराईले विदेशमन्त्री स्वराजले प्रधानमन्त्रीसँग भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामबारे कुरा गरेको बताए ।

बालुवाटारमा प्रधानमन्त्री देउवासहित अन्य केही मन्त्रीहरु र सरकारका उच्च अधिकारीसहित दुई नेताबीच वार्ता भएको हो । भेटमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्य मन्त्री सुनिलबहादुर थापा र अर्थराज्यमन्त्री उदय शमशेर राणा पनि सहभागी थिए ।

भेटवार्तामा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले यो भेटमा नेपाल-भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन विदेशमन्त्री स्वराजसँग छलफल भएको बताएका थिए ।

हिजो स्वराजले एमाले अध्यक्ष केपी ओली र एमालेका नेताहरुसँग होटल सोल्टीमा भेटवार्ता गरेकी थिइन् ।  बिहीबार नै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर सहितसँग उनले भेटवार्ता गरेकी थिइन् ।

शुक्रबार बिहानदेखि नै उनी भेटवार्तामा व्यस्त भइन् । शुक्रबार बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले होटल सोल्टीमा भेटिन् । त्यसपछि होटल सोल्टीमै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि उनले भेटेर मधेस र स‌ंविधान सं‌शोधनबारे संवाद गरिन् ।

होटल सोल्टीबाट निस्केपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीत्तल निवासमा भेट गर्दै निर्वाचन गराएकोमा बधाई दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत