दलहरु प्रदेश २ मा संसदीय दलको नेता चयन गर्ने तयारीमा

२० माघ ०७४, जनकपुर । प्रदेश २ मा प्रदेश सभाको पहिलो बैठक नजिकिँदै जाँदा दलहरू प्रदेशसभा संसदीय दलको नेता चयन गर्न लागि परेका छन् ।

प्रदेश २ बाट प्रतिनिधित्व गर्ने राजपा, संघीय फोरम, कांग्रेस, माओवादी केन्द्र, एमाले लगायत आआफ्नो दलका नेता चयनको तयारीमा लागेका हुन् ।

शनिबार अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर सम्मिलित प्रदेशसभा सदस्यको बैठकले दलको नेताका विषयमा निर्णय गर्ने जनाइएको छ । राजपा र संघीय फोरमका शीर्ष नेता जनकपुर आएर नेताको विषयमा टुंगो लगाउँदै छन् ।

प्रदेश संसदीय दलको नेता चयन गर्ने विषयमा सहमति जुटाउन कांग्रेसले नेता विमलेन्द्र निधिलाई जिम्मेवारी दिएको छ । एमालेले प्रदेश संसदीय दलको नेता चयन गर्ने जिम्मेवारी प्रदेशसभा सदस्यलाई नै दिएको छ । माओवादी केन्द्रमा पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल सुरु भएको छ ।

प्रदेश २ मा १९ सिट जितेको कांग्रेसबाट संसदीय दलको नेताका लागि धनुषा सभापति रामसरोज यादवको नाम चर्चामा छ । राजपाबाट दलको नेताका लागि पर्साका जितेन्द्र सोनल, सर्लाहीका उपेन्द्र महतो, रिना साह लगायत आकांक्षी रहेको एक नेताले जानकारी दिए ।

संघीय फोरमले पनि शनिबार नै दलका नेताको टुंगो लगाउनेछ । दलका नेता चयनका लागि शनिबार पिडारी चोकस्थित पार्टी कार्यालयमा बैठक राखिएको फोरम नेता शेषनारायण यादवले बताए । उनका अनुसार अध्यक्ष उपेन्द्र यादवसहित प्रदेशसभा सदस्यको उपस्थितिमा बैठक बस्नेछ । फोरम नेतामा विजय यादव, लालबाबु राउत, शैलेन्द्र साह तथा रामअशिष यादवको नाम चर्चामा छ ।

सबैभन्दा बढी सिट जितेको फोरमले प्रदेश २ मा अन्य दलको सहयोगमा सरकार बनाउनेछ । दलको नेता नै मुख्यमन्त्री हुनेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत