सरकारले ग्यास उद्योग माथि कडाई, मापदण्ड पुरा नगरे उद्योग बन्द गर्ने चेतावनी

२० माघ ०७४, काठमाडौं । ग्यास सिलिण्डर विस्फोटनका घटना बढ्न थालेपछि सरकारले बोटलिङ प्लान्टमाथि कडाई गरी गुणस्तर मापदण्ड (एनएस) चिहृन नलिने ग्यास उद्योगलाई बन्दसम्म गर्ने चेतावनी दिएको छ ।

गुणस्तर तथा नापतौल विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिहृन लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर, एक वर्ष वितिसक्दा पनि आग्रह पालना नगरेपछि कडा रुपमा प्रस्तुत हुन बाध्य भएको विभागका महानिर्देशक विश्ववावु पुडासैनीले बताए ।

विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टले मात्र गुणस्तर चिहृन लिएका छन् । गुणस्तर चिहृन लिने उद्योगमा नेपाल ग्यास उद्योग, मनोज ग्यास प्रालि, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग छन् ।

गुणस्तर मापदण्ड पूरा नगर्ने ग्यास उद्योग बन्द गर्ने सरकारको चेतावनीपछि उद्योगीहरूले नेपाल गुणस्तर चिह्न प्रमाणपत्र (एनएस) का लागि आवेदन दिएका छन् ।

विभागकी प्रवक्ता रोमी मानन्धरले  गुणस्तर चिह्न नलिएका ग्यास उद्योगले एनएस चिह्नका लागि कागजात विभागमा पेश गरेको जानकारी दिइन् । विभिन्न चार ग्यास उद्योग एनएसका लागि योग्य देखिएका छन् । ती उद्योगले पेश गरेका कागजातका आधारमा ‘फिल्ड भिजिट’ र आवश्यक अनुगमनपछि मात्र एनएस प्रदान गर्ने विभागले जनाएको छ ।

विभागले ग्यास भर्ने सिलिन्डर र उद्योगको पूर्वाधार मापदण्ड हेरेर गुणस्तर प्रमाणपत्र दिन्छ । गुणस्तर मापदण्ड पालना नगर्ने उद्योगमाथि ६ महिना कैद वा तीन हजार रुपैयाँ जरीवाना तिराउन सकिने कानूनी व्यवस्था छ । एनएस नलिएकालाई सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई पत्राचारसमेत गरिएको विभागले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत