चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने

२२ माघ ०७४, वीरगञ्ज । पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ ।

गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिश रोक्ने र जरिवानासमेत गर्ने उर्दी गरेको हो ।

गाउँपालिका सचिव अर्जुनप्रसाद चौहानले बिन्दसाविनी गाउँपालिका–५ मा  ९० प्रतिशत घरमा शौचालय भएपनि १० प्रतिशतले शौचालय राख्न आनाकानी गरेपछि गाउँपालिकाले यस्तो कदम चालेको बताए । उक्त गाउँपालिकामा आठ हजार जनसंख्या छ ।

अध्यक्ष श्रीलाल साह कानुले आउँदो चैत महिनासम्ममा पूरै गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जानकारी दिंदै चर्पी नबनाउनेलाई सामाजिक तथा आर्थिक जरिवाना गर्ने भएकाले धमाधम चर्पी बनाउन थालेको बताए ।

चर्पी बनाउन गाउँपालिकाले चर्पीका लागि आवश्यक पर्ने सिटलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । गाउँपालिका दिसामुक्त क्षेत्रका लागि घर घरमा २०७० सालदेखि विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेकाले गाउँपालिकाले कडाइ गरेको हो ।

वडा नं १ देखि ५ सम्म रहेको सो गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जनाइएको छ । गाउँपालिकाले तीन दिनभित्र शौचालय राख्न उर्दी जारी गरेकाले वडा नं ५ का बासिन्दाले धमाधम चर्पी राख्न थालेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत