हिन्दीमा शपथ लिएको भन्दै स्थानीय युवाहरुले नेताहरुको पुत्ला जलाए

२३ माघ ०७४, जनकपुर  । प्रदेश नं. २ मा  पहिलो प्रदेशसभा बैठकमा मातृभाषामा शपथग्रहण नगरी हिन्दीमा गरेको भन्दै स्थानीय युवाहरुले  राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमका नेताहरुको पुत्ला जलाएको छ ।

मंगलबार स्थानीय युवाहरुले राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमका नेताहरुले हिन्दीमा शपथग्रहण गरेको भन्दै नेताहरुको पुत्ला जलाएका हुन् ।

युवा अभियन्ता सुशील कर्णले  पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषा जस्तो आत्मिय पहिचानलाई बिर्सिने दलहरुको खबरदारी गर्न पुतला दहन गरेका बताए । उनले प्रदेश नम्बर दुईमा बोलिने मैथिली, भोजपूरी, थारुसहितका मातृभाषाहरुमा मात्र बोल्न प्रदेशसभा सदस्यहरुसँग आग्रह समेत गरे ।

आइतबार सम्पन्न प्रदेश नं. २ पहिलो बैठकमा संघीय समाजवादी फोरमका लालबावु राउत तथा राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनलले हिन्दीमा भाषण गरेका थिए भने नेपाली कांग्रेसका रामसरोज यादव, एमालेका सत्यनारायण मण्डल र शत्रुघ्न महतो तथा माओवादी केन्द्रका भरत साह मैथिलीमा संम्बोधन गरेका थिए ।

यसअघि सम्पन्न प्रदेशसभा सदस्यहरुको शपथग्रहणमा ४७ जनाले मैथिलीमा, २५ जनाले भोजपुरीमा, २४ जनाले नेपालीमा र ११ जना सदस्यले हिन्दीमा शपथग्रहण गरेका थिए । हिन्दीमा शपथ लिने सम्पूर्ण प्रदेशसभा सदस्य राजपाका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत