प्रदेश ३ को उपसभामुखमा माओवादीका सांसद् तामाङ निर्विरोध

२८ माघ ०७४, काठमाडौं । प्रदेश ३ को उपसभामुखमा नुवाकोट क्षेत्र नं १ (क) की सांसद् राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।

प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसलगायत अन्य दलको उम्मेदवारी नपरेपछि एमालेको समर्थनमा उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

तामाङको एमाले संसदीय दलका नेता डोरमणि पौडेल प्रस्तावक र माओवादी केन्द्र संसदीय दलका उपनेता कुमारी मोक्तान समर्थक थिइन् ।

उपसभामुख निर्वाचित भएपछि तामाङले फरक खालको जिम्मेवारी भएकाले क्षमताले भ्याएसम्म कार्य गर्ने बताइन् । ‘मेरो लागि नितान्त फरक जिम्मेवारी हो । मेरो आवश्यकता पर्दा उचित जिम्मेवारी निभाउँछु ।’

२०४० सालमा जन्मिएकी तामाङ २०५४ सालदेखि माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा आवद्ध भएकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी जिल्ला सचिवालय सदस्य, सहसचिव हुँदै हाल केन्द्रीय सदस्य छन् । दोस्रो संविधानसभामा समानुपातिक तर्फकी सांसद तामाङ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री समेत भएकी थिइन् ।

प्रदेशसभा नं ३ को सभामुख र उपसभामुख दुवै पदमा जनजाति निर्वाचित भएका छन् । सभामुखमा काठमाडौं क्षेत्र नं २ को १ बाट निर्वाचित एमाले सांसद सानुकुमार श्रेष्ठ र उपसभामुखमा निर्वाचित तामाङ दुवै जनजाति हुन् ।

निर्वाचनमा गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले प्रदेश सभामुख र उपसभामुख पदमा भागबण्डा गरेअनुसार एक अर्कालाई समर्थन गरेका हुन् । प्रदेश ३ मा १ सय १० सांसदमध्ये ५३ आदिवासी जनजाति छन् भने ३७ महिला छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत