प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पदबाट राजीनामा

३ फागुन ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै देउवाले राजीनामाको घोषणा गरेका हुन् ।

उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् ।

करिव १५ मिनेट लामो सम्बोधनको क्रममा उनले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए । उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताए ।

त्यस्तै, उनले सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको स्वीकार गर्दै आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रुत गतिमा विकास गर्न नसकेको बताए । उनले आफ्नो कार्याकलमा बुढी गण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगाएका राष्ट्रिय गौरवका आयोजनाका काम अघि बढेको दाबी गरे ।

प्रधानमन्त्री राजीनामा बुझाउन शीतल निवास जाँदैछन् । सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बसेको थियो । जाँदा जाँदै प्रधानमन्त्री देउवाले आफू सरकारमा नभए पनि जनताको सुख दुःखमा र पार्टीमा क्रियाशील रहिरहने बताए । उनले अब बन्ने सरकारलाई दिगो विकास, शान्ति र सहमति कायम राख्न शुभकामना दिएका छन् ।

कांग्रेस सभापति देउवा गत जेठ २४ गते मुलुकको ४० औं प्रधानमन्त्री बनेका थिए ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत