प्याकेजमै सहमति भएपछि मात्र सरकारमा जान्छौं : ‘प्रचण्ड’

४ फागुन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता, मन्त्रालय बाँडफाँटलगायत विषय टुङ्गि नसकेकाले आफ्नो पार्टीले कसैलाई मन्त्रिमण्डलमा नपठाएको प्रस्ट पारेका छन् ।

शुक्रबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनमा दाहालले पार्टी एकता, मन्त्रालय बाँडफाँट र नियुक्तिको विषय टुङ्ग्याउन बाँकी रहेकोले कसैलाई मन्त्रिमण्डलमा नपठाएको प्रस्ट पारेका हुन् ।

नेकपा माओवादी र एमालेबीच निरन्तर छलफल चलिरहेकोले एक/दुई दिनभित्र सहमति हुने  विश्वास व्यक्त गर्दै उनले भने -‘पहिलो मन्त्रिपरिषद् गठनमा हाम्रा कुनै मन्त्री नगएपछि प्रश्न उठ्यो, बुधबार साँझ सबै विषयमा पूर्ण छलफल हुन नसकेकोले सहभागी नभएका हौं  । यसमा केही दिनमै प्याकेजमै सहमति भएपछि सरकारमा जान्छौं ।’

पार्टी एकता भाँडिने हो कि भन्ने आशंका बढिरहेको बेला दाहालले एमाले-मा‌ओवादीबीच ठूलो विवाद नरहेको दाबी गर्दै उनले नयाँ सरकारले गर्ने कामको प्राथमिकता, नियुक्तिसम्बन्धमा प्याकेजमै सहमति गर्ने प्रयास भइरहेको पनि बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले नयाँ सरकारले हिजोको  सरकारले गर्न नसकेको काम गरेर देखाउन सक्नुपर्नेमा जोड दिए । त्यसमा शिक्षक, बुद्धिजीवीसहित सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले अहिलेको सरकारले शिक्षकका समस्यालाई मध्यनजर गरेर गुणात्मक काम गर्ने आश्वासन पनि दिए ।

माओवादी केन्द्रको समर्थनमा बिहीबार एमाले अध्यक्ष केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले कुनै मन्त्रीको नाम नदिएपछि नवनियुक्त प्रधानमन्त्री ओलीले बिहीबार आफ्नो पार्टीबाट दुई जनालाई मात्र मन्त्री बनाएका थिए । एमालेबाट लालबावु पण्डित जनसंख्या तथा वातावरण र थममाया थापामगर महिला तथा बालबालिका मन्त्री बनेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत