भक्तपुरमा छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज खोप अभियान सञ्चालन

४ फागुन ०७४, भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरेको छ ।

शुक्रबारदेखि नगरपालिकाले जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोली तथा नगरपालिकाका नौजना कर्मचारीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्ध खोप लगाइदिने अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत समातिएका कुकुरलाई गःपलीस्थित पशु स्वास्थ्य क्लिनिकमा लगेर बन्ध्याकरण गर्ने र खोप लगाउने कार्य भइरहेको अभियानका संयोजक एवं वडा अध्यक्ष राजकृष्ण गोराले जानकारी दिए ।

पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको कार्यक्रम संयोजक गोराले बताए । उनले रेबिज रोगबारे सर्वसाधारणलाई जनचेतना दिने र खोप लगाइएका कुकुरको पहिचान गर्न सजिलो होस् भनेर चित्रसहितका पर्चा र पोस्टर ठाउँठाउँमा राख्न लागिएको जानकारी दिए ।

उनका अनुसार कुकुरलाई पशु चिकित्सक डा एकता पाण्डे र डा आशिष राई तथा प्राविधिक मुकेश तुल्सी बाख्यो र बुद्धिराम रेग्मीको टोलीले उपचार गर्ने र उपचारपछि समातिएकै स्थानमा छोडिने गरेको छ ।

अभियानमा संलग्न डा पाण्डेले समातिएका कुकुरलाई आधुनिक सुविधासम्पन्न क्लिनिकमा बन्ध्याकरणसहित उपचार गरिने बताए । उनले खोप र बन्ध्याकरण गरिएका कुकुरलाई सर्वसाधारणले चिन्न सजिलो बनाउन घाँटीमा सुन्तला रङ्गको पेटी बाँध्ने तथा दाहिने कानको थोरै भाग काटिदिएको बताए ।

नगरप्रमुख सुनिल प्रजापतिले सो अभियानमा भक्तपुर दरबारस्क्वायरमा स्थलगत अवलोकन गर्दै कुकुरले नगरको रात्रिकालीन सुरक्षाको काम गरे पनि नगरमा अत्यधिक संख्यामा देखिएका कुकुरलाई रेबिज रोगबाट मुक्त गर्न तथा कुकुरको संख्या अनपेक्षित रुपमा बढ्नबाट रोक्न नपाले बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको प्रष्ट पारे ।

प्रजापतिले अभियानमा दक्ष पशु चिकित्सक संलग्न रहेकाले यो अभियान नगरका सबै वडाका टोलमा सञ्चालन गर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत