प्रदेश ५ मा उपसभामुखमा दुई जनाको उम्मेदवारी

५ फागुन ०७४, बुटवल । प्रदेश ५ मा  उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

शनिबार भएको मनोनयनमा वाम गठबन्धनबाट एमालेकी कृष्णी थारु र कांग्रेसबाट रिना नेपाल विश्वकर्माको उम्मेदवारी दर्ता भएको हो ।दुबै उमेदवार समानुपातिक सांसद हुन् ।

बर्दियाका कृष्णी थारु एमालेका  समानुपातिक सांसद हुन् भने कपिलवस्तुकी  रिना नेपाल विश्वकर्मा कांग्रेसबाट समामानुपातिक सांसद हुन् ।

सभामुखमा माओवादीबाट पूर्णबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका थिए । गठबन्धनबाट एमालेलाई उपसभामुख परेको थियो

एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले वाम गठबन्धनबाट संयुक्त उम्मेदवारी दर्ता गरेको बताए । थारुको प्रस्तावकमा प्रमुख सचेतक ढकाल र समर्थकमा माओवादीका प्रमुख सचेतक दधिराम न्यौपाने छन् ।

त्यस्तै कांग्रेसबाट उपसभामुखमा उम्मेदवार बनेकी रिना विश्वकर्माको प्रस्तावकमा कांग्रेसका सुरेन्द्रबहादुर हमाल र समर्थकमा कांग्रेसकै रमा अर्याल छन् ।

उपसभामुख निर्वाचनका लागि सभामुख पूर्णबहादुर घर्तीले आइतबार १ बजे संसद् बैठक बोलाएका छन् । संसद्‍मा थारुका पक्षमा ८७, वाम गठबन्धनका ६१ मत छ । कांग्रेस उम्मेदवार रिना विश्वकर्माका पक्षमा कांग्रेसका १९ मत छ । ५ मत रहेको संघीय समाजवादी फोरम, राजमोको १ र राजपाको १ मत छ । फोरम, राजमो र राजपाले कस्लाई समर्थन गर्ने भन्ने अझै निर्णय गरेका छैनन् ।

संसद् सचिवालयका अनुसार दुई जनाको उम्मेदवारी परेपछि आइतबार उपसभामुखको निर्वाचन हुनेछ । निर्वाचनका लागि वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत