आर्थिक चलखेल गरेर मन्त्री बनाइने पार्टीमा बस्न सकिन्न – सांसद शाही

७ फागुन ०७४, काठमाडौं । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार चन्द्रबहादुर शाहीले सांसद तथा एमालेको साधारण सदस्य पदबाट राजीनामा दिएका छन् ।

प्रदेश ६ को एमाले संसदीय दलका नेता यमलाल कँडेलले पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै शाहीले राजीनामा दिएका हुन् ।

प्रदेशसभा सदस्य शाहीले सभामुखलाई राजीनामा हुलाकमार्फत पठाएको र एमाले पार्टी केन्द्रीय कार्यालयमा साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाउन लागेको बताए ।

प्रदेश ६ को सभामुखको दाबेदार शाहीले सभामुख नपाए पनि मन्त्रीको आकांक्षी थिए । तर, आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा एमालेबाट मन्त्री नभएपछि अपमानित महशुस गर्दै राजीनामा दिएको बताए ।

‘नवप्रवेशी र पैसावालहरुलाई आर्थिक चलखेल गरेर  मन्त्री बनाए, पार्टीमा कुनै योगदान नगरेका र कुनै कमिटीमा नरहेका व्यक्तिलाई सभामुख बनाइयो’ शाहीले भने, ‘ममाथि सहनै नसकिने अन्याय गरेपछि धेरै पीडावोध महशुस गरेर राजीनामा दिएको हुँ ।’

एमालेबाट मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् भने हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेका एनजिओकर्मी रहेको शाहीले बताए ।

दलका नेता कँडेलले सुर्खेतका ठेकेदार खड्ग खत्रीलाई आर्थिक चलखेल गरेर मन्त्री बनाएको आरोप लगाउँदै शाहीले भने, ‘नवप्रवेशी र पार्टीमा कुनै योगदान नगरेका व्यक्तिहरुलाई आर्थिक चलखेल गरेर मन्त्री बनाइन्छ भने यस्तो पार्टीमा कसरी बस्न सकिन्छ ?’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत