राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट

११ फागुन ०७४, काठमाडौं । शेरवहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तर नयाँ सरकारले सिफारिस फिर्ता लिएपछि सांसद हुन नपाएका तीनजनाले सर्वोच्च अदालत रिट दायर गरेका छन् ।

राष्ट्रियसभा सदस्य मनोनयनसम्बन्धी वर्तमान सरकारको निर्णय रोक्न अन्तरिम आदेश जारी गर्न माग गर्दै राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरुले अघिल्लो सरकारको निर्णय फिर्ता गर्न नहुने र आफूहरु नै नियुक्त हुनुपर्ने माग रिटमा गरेका छन् ।

रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, नेपाल सरकार र मनोनित भएका तीनजना राष्ट्रिय सभा सदस्यहरुलाई विपक्षी बनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा नेतृत्वको कामचलाउ सरकारले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको तीनजनाको  अनुमोदन गरेकी थिइनन् । केपी ओली नेतृत्वको सरकारले नयाँ नाम सिफारिस गरेर पठाएपछि राष्ट्रपतिले मनोनित गरेकी छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा एक महिलासहित तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान छ ।

पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै ओली सरकारले गरेको सिफारिस अनुसार रामनारायण विडारी, युवराज खतिवडा, विमला राई नियुक्त भइसकेका छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत