वाम गठबन्धनबीच राष्ट्रपति, सभामुखमा भागवण्डा मिल्यो

११ फागुन ०७४, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुख लगायतका राजकीय पदको भागवण्डा मिलेको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।

नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिनेछ ।

एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरेको छ । संविधानसभाका तत्कालीन अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने एमाले अध्यक्ष ओलीको प्रस्ताव थियो । तर, माओवादीले मानेको छैन । ‘व्यक्तिगत रुपमा उहाँ राम्रो र योग्य उम्मेदवार हो’ माओवादीका एक नेताले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीसँगै सभामुख पनि एमालेलाई दिन सकिँदैन, त्यसैले सभामुख हामीले लिने कुरा भएको छ ।’

माओवादीमा सभामुखको प्रमुख दाबेदारका रुपमा कृष्णबहादुर महरालाई हेरिएको छ । यद्यपि मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही हेरफेर हुन सक्ने नेताहरु बताउँछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत