कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत

१५ फागुन ०७४, सुर्खेत । कर्णाली प्रदेशमा सरकारले दुई तिहाइ बहुमत प्राप्त गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश संसदमा पेश गरेको विश्वासको मतसम्वन्धी प्रस्तावको पक्षमा दुईतिहाइ भन्दा बढी सांसदले मतदान गरेका हुन् । योसँगै प्रदेश सरकारले संसदबाट विश्वासको मत प्राप्त गरेको हो ।

मंगलवार बसेको संसद वैठकमा मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिइयोस् भन्ने पस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा मत विभाजन गरिएको थियो ।

प्रस्तावको पक्षमा ३२ र विपक्षमा जम्मा ६ मत खसेको थियो । प्रदेश सभामा दुई तिहाइका लागि आवश्यक २८ मत हो । तर विश्वासको मत सम्वन्धी प्रस्तावमा ३२ मत खसेका कारण सरकारले दुई तिहाइ भन्दा बढी मत प्राप्त गरेको हो ।

अब संविधान अनुसार दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन । बैठकमा सभामुख राजबहादुर शाहीले मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सवन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

प्रदेशको पहिलो दल नेकपा एमालेको समर्थन मुख्यमन्त्री बनेका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता शाहीको पक्षमा एमाले र माओवादीका सांसदले मतदान गरे । तर संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टीले भने सरकारको विपक्षमा मतदान गरेका छन् ।

संसदमा एमालेका २० र माओवादी केन्द्रको १३ मत रहेको छ । यस्तै कांग्रेससँग ६ र राप्रपाको एक मत छ । गंलवारको बैठकमा कांग्रेसका एक सांसद भने उपस्थित थिएनन् ।

मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्वासको मत मागेपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति, योजना र कामका आधारमा सरकारलाई सहयोग गर्ने बताए ।

तर कांग्रेसले सरकारलाई मत दिन भने नसक्ने उल्लेख गरे । सरकारलाई मनपरी गर्न नदिन कांग्रेसले प्रतिपक्षको भूमिकाबाट सधै खबरदारी गर्ने शाहीको भनाइ छ । संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कांग्रेसका पाँच र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत