छैठौं स्वास्थ्य सेवा दिवसको अवसरमा चार जना पुरस्कृत

१५ फागुन ०७४, काठमाडौं । स्वास्थ्य मन्त्रालयले छैठौं स्वास्थ्य सेवा दिवसको अवसरमा चार जना स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले चारजना स्वास्थ्यकर्मीहरुलाई ‘स्वास्थ्य सेवा पुरस्कार’ बाट पुरस्कृत गरेका हुन् ।आर्थिक वर्ष ०७३/७४ मा गरिएको कार्यसम्पादनका आधारमा स्वास्थ्य मन्त्रालयले उनीहरुलाई पुरस्कृत गरेको थियो ।

पुरस्कृत हुनेमा शान्तीनगर स्वास्थ्य चौकीका सिनियर अहेब दीपक सापकोटा, धनुषास्थित यदुकुवा आयुर्वेद औषधालयका कविराज रामछविला यादव, वीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई तथा सिन्धुली अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा सिनियर कन्सल्टेण्ट डा. सुमित्रा गौतम रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले यस वर्ष ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनतामुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ यस वर्ष स्वास्थ्य सेवा दिवस मनाएको छ ।

कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्था आफै सक्षम नभए गुणस्तरीय सेवा दिन नसक्ने हुँदा स्वास्थ्य क्षेत्रको विकासको लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले संघीय संरचनामा स्वास्थ्यको मुद्धा प्रमुख भएको जनाउँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् ।

दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार विहान स्वास्थ्य सेवा विभागको प्राङ्गणमा योग अभ्यासको कार्यक्रम आयोजना गर्नुका साथै स्वास्थ्य सेवा विभागदेखि स्वास्थ्य मन्त्रालयसम्म प्रभातफेरी गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत