टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी जेल चलान

१४ फागुन ०७४, काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् ।

सोमबार विहान टीकापुर घटनापछि फरार चौधरीले  अदालतसामू आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण लगतै न्यायाधीश परशुराम भट्टराईको इजलासले भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् । उनलाई धनगढी कारागारमा पूर्पक्षका लागि  जेल चलान गरिएको छ ।

उनका वकिलले बहसका क्रममा सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए । तर, अदालतले चौधरीले अभियोग इन्कार गरे पनि लक्ष्मण थारु, लाहुराम चौधरी लगायतका अभियुक्तहरुले उनकै नेतृत्व र योजनामा घटना भएको हो भनी बयान दिएको तथा सरकारी वकिलले पेश गरेको प्रतिवेदनका ‘हृदयविदारक तथ्य’ आधारमा चौधरी कसुरदार छैनन् भन्न नसकिने भन्दै थुनामा राख्न आदेश दिएको छ ।

सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी, सहन्याधिवक्ता भानदेश जोशी, नवीन भट्टले बहस गरेका थिए ।

जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउदले बहस गरे । चौधरीको तर्फबाट अधिवक्ता गंगाराम पाध्यय, मिलनकुमार राई, गजेन्द्रबहादुर केसी र नाथीराम महतोले बहस गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत