सवारी दुर्घटनामा २ प्रहरी जवानको मृत्यु

२१ फागुन ०७४, काठमाडौं । पोखरामा हिजो राति बसले मोटरसाइकललाई  ठक्कर दिँदा २ प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार बागलुङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५७५८ नम्बर बसले पोखरा आउँदै गरेको ग ११ प ३६४५ नम्बरको मोटरसाइकललाई विजयपुर चोकमा ठक्कर दिँदा मोटरसाइकलमा सवार २ प्रहरी जवानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीका अनुसार वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशील बानिया र प्रदीपकुमार यादवको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका दुवैजनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

आइतबार राति साढे ९ बजे बसले ठक्कर दिएको हो भने उनीहरुको उपचारका क्रममा साढे १० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । बानियाले मोटरसाइकल चलाएका थिए भने यादव पछाडि बसेका थिए ।

२६ वर्षीय बानियाको घर स्याङ्जा फेदीखोला गाउँपालिका वडा नम्बर २ र २५ वर्षीय यादवको रुपन्देही शिवगढ घर भएको प्रहरीले जानकारी दिएको छ । दुवैजनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत