आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री

३० फागुन ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभा, राष्टिकयसभा तथा प्रदेशसभा सांसदहरुको सम्मानमा बालुवाटारमा आयोजित चियापानलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशलाई थप मजवुद र एकतावद्ध पार्नका लागि संविधान संशोधन हुन्छ तर देशलाई नोक्सानी हुने, अखण्डतामा असर पर्ने गरी संविधान संशोधन नहुने बताए ।

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने बताउँदै भने ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाविरुद्ध जागरण अभियान चलाइन्छ । कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’

ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने दोृहो¥याउँदै सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने जस्ता प्रचार गरेर भ्रम छर्न खोजेको भन्दै उनले भने, ‘यस्ता भ्रममा पर्नु हुँदैन । सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय अब सकियो ।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिए । जनताको मतले सांसद भएको भन्दै उनले सांसदका हरेक गतिविधि जनताको हितका निम्ति हुनु पर्ने बताए । उनले भने – ‘जनताले जे कुरा मन पराउछन्, त्यो गर्नुहोस, जे मन पराउँदैनन् त्यो गदै नगर्नुस् ।’

कार्यक्रममा एमाले, माओवादी केन्द्र, फोरम र राजपाका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिति थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत