प्रदेश २ को ठोरीलाई प्रदेश ३ मा गाभ्न स्थानीयको दबाव

१२ चैत्र ०७४, पर्सा ।   प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग ठोरीलाई प्रदेश ३ मा गाभ्न ठोरीवासीले अनुरोध गरेका छन् ।

सोमबार ठोरी नाकाको स्थलगत अवलोकनका पुगेका मुख्यमन्त्री पौडेलको स्वागत गर्दै ठोरीका स्थानीयवासीले ठोरीलाई प्रदेश २ बाट प्रदेश ३ गाभ्न अनुरोध गरेका हुन् ।

ठोरी गाउँपालिका-१ का वडाध्यक्ष रामशरण कुँवरले ठोरीलाई प्रदेश ३ मा गाभ्न पटकपटक प्रयास गरिएपनि सफल नभएको गुनासो पोख्दै  मुख्यमन्त्री समक्ष ठोरीका जनता र जनप्रतिनिधिको भावनाको सम्मान हुनुपर्ने बताए ।

ठोरी गाविसका पूर्वअध्यक्ष उद्धव सापकोटाले लोकतन्त्रमा जनताको भावनाको सम्मान हुने भनिएपनि ठोरीका जनताको चाहाना र भावनाको अहिलेसम्म कदर नभएको दुखेसो गरे ।

मुख्यमन्त्री पौडेलले जनताको भावनाको सम्मान राज्यले गर्नुपर्ने भन्दै प्रदेश ३ का लागि पनि एक नाकाको आवश्यकता रहेको बताए । उनले प्रदेश ३ का लागि सबैभन्दा उपयुक्त नाका ठोरी नै हुने भन्दै प्रदेश २ सँग आवश्यक छलफल र सहमतिमा अघि बढ्ने बताए ।

स्थानीय तहको निर्वाचनपछि बसेको गाँउपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश ३ मा गाभिन प्रस्ताव पनि पारित गरेको थियो । स्थानीयले  प्रदेश २ गाभिन पाउनुपर्ने माग गर्दै पटक -पटक आन्दोलन समेत गर्दै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत