नेकपाका प्रवक्ता विश्वकर्माको घरमा वारेन्ट पूर्जी टाँस्न गएका सरकारी टोली असफल

१५ चैत्र ०७४, काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी(विप्लव)का स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट पूर्जी टाँस्न पुगेको सरकारी टोलीलाई स्थानीयले प्रतिवाद गरेका छन् ।

बिहीबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट सरकारी कर्मचारीसहितको कालिकोट जिल्लाको माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा पुगेको टोलीलाई स्थानीयहरुले प्रतिवाद गरेका हुन् ।

टोलीले घरमा पुगेर प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँस्न खोज्दादेखि नै घरपरिवार र स्थानीयसँग विवाद भएको थियो । अन्तिमसम्म प्रहरीले जबर्जस्त गरेको भन्दै स्थानीय र घरपरिवारले प्रतिवाद गरेपछि पूर्जी नटाँसिकनै टोली फिर्ता भएको छ ।

हिजो मात्र नेपाल कम्यूनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रघात र जनघात गरेको विषय खुलाएर जवाफ दिनका लागि पन्ध्र दिनभित्र ‘जनअदालत’मा उपस्थित हुन ओलीको झापास्थित घर र प्रचण्डको खुमलटारस्थित निवास र चितवनको भरतपुर महानगरपालिक–१४ स्थित घरमा वारेन्ट पूर्जी टाँसेको थियो । जसबारे दुवै नेताले अहिलेसम्म कुनै प्रतिक्रया दिएका छैनन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपाका गतिविधि र शक्तिबारे सुरक्षा निकायसँग तीन दिने रिपोर्ट माग गरेको केही दिन नबित्दै पूर्वमन्त्रीसमेत रहेका प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँसको प्रयास भएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत