तीन विद्यार्थी संगठनद्वारा शैक्षिक हड्तालको घोषणा

१६ चैत्र ०७४, काठमाडौं । तीन विद्यार्थी संगठनहरुले अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

शुक्रबार अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले काठमाडौं उपत्यकाका आरआर, त्रिचन्द्र लगायतका प्रमुख कलेज अगाडि बिहान करिब एक घण्टासम्म चक्काजाम गर्दै यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।

शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३ गते निर्धारण गरिएको छ ।

एसईई परीक्षाको बीचमै शैक्षिक हड्ताल गर्ने निर्णयमा पुनर्विचार गर्न निजी विद्यालयहरुको संस्था प्याब्सनले आग्रह गरेको छ । यही चैत ८ गतेबाट सुरु भएको यसईई परीक्षा चैत २० गते सकिँदैछ ।

सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

बिहान क्याम्पस अगाडि प्रदर्शन गरेका विद्यार्थी संगठनहरुले मध्यान्ह माइतीघर मण्डलामा पनि प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत