अवैध कलेजमा पाँच वर्षदेखि नर्सिङ पढाइ

काठमाडौं । चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ । कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो । कलेजले चारबर्से बीएससी नर्सिङ र तीनवर्षे बिएन विषयको पठनपाठन गर्दै आएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

नर्सिङ शिक्षण संस्था सञ्चालन गर्न नेपाल नर्सिङ परिषद्बाट मान्यता लिनुपर्ने कानुनी व्यवस्था छ । तर, कलेजले मान्यता नै नपाएको काउन्सिलका रजिस्ट्रार लक्ष्मी राईले खुलाइन् ।

उक्त कलेजबाट चारबर्से बीएससी नर्सिङ अध्ययन पूरा गरी नाम दर्ता परीक्षामा सामेल हुन दुई विद्यार्थीले अनलाइनबाट फर्म भरेपछि अवैध भएको खुलेको हो । काउन्सिलले बीएससी नर्सिङ गरेका शोभा अर्याल र तनुजा श्रेष्ठलाई कलेज अवैध भएको जनाउँदै परीक्षामा सामेल गर्न रोकेको छ । रजिस्ट्रार राईले प्रश्न गरिन्, ‘मान्यता नै नदिएको कलेजबाट पढेकालाई कसरी परीक्षामा सामेल गराउने ? ’

परीक्षामा सामेल हुन नपाएकोमा विद्यार्थीद्वयले उच्च अदालत पाटनमा मुद्दा दायरसमेत गरेका थिए । अदालतले परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिए पनि मान्यता नै नपाएको कलेजमा अध्ययन गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउनु न्यायोचित नहुने ठहर परिषद्को बोर्ड बैठकले गरेको थियो ।

परिषद् ऐन, २०५२ को दफा ९ अनुसार शिक्षण संस्थालाई मान्यता दिने अधिकार काउन्सिललाई रहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको मिलेमतो

शिक्षण संस्था सञ्चालन गर्न स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले नर्सिङ परिषद्सँग परामर्श माग गर्नुपर्ने कानुनी व्यवस्था छ । सम्बन्धित शिक्षण संस्थाले आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरे/नगरेको जाँचबुझ गरी परिषद्ले परामर्श दिनुपर्छ ।

परिषद्को परामर्शको आधारमा मात्र सम्बन्धित निकायले शिक्षण संस्था स्थापना र सञ्चालन गर्ने स्वीकृति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।

काउन्सिलले पूर्वाधार नपुगेको भन्दै परामर्श दिए पनि सम्बन्धन दिएको पूर्वाञ्चल विश्वविद्यालयले बेवास्ता गर्दै आएको छ।

काउन्सिलकी रजिस्ट्रार राईले विश्वविद्यालयका उपकुलपतिलाई भेट्न जाँदा ‘रेस्पोन्स’ नगरेको बताइन् ।

परिषद्की अध्यक्ष गोमादेवी निरौला श्रेष्ठ र रजिस्ट्रार राईले उपकुलपतिलाई मौखिक रूपमा जानकारी दिँदासमेत बेवास्ता गरेको स्रोतको दाबी छ । उपकुलपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘परिषद्ले के गर्न सक्छ गरोस् । विश्वविद्यालयले आफूले चाहेको गर्छ ।’

शिक्षण संस्था स्थापना र सञ्चालन स्वीकृति दिइएको अवस्थामा यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने व्यवस्था छ । तर, उक्त कलेजको भने नर्सिङ परिषद्को सूचीमा समेत छैन ।

विश्वविद्यालयले ०६९-७० को शैक्षिक शत्रबाट अध्यापन गराउँदा परिषद्ले तोकेको मापदण्ड अनिवार्य पूरा गर्नु पर्नेछ भनी सर्तसहित पाँच वर्षअघि अस्थायी सम्बन्धन लिएको खुलेको छ । विश्वविद्यालयले ०६९ मंसिर ६ गते सम्बन्धन दिएको थियो ।

तर, कलेजले मापदण्ड नै नपुर्‍याई २०७० पुस १७ गते गोरखापत्रमा विद्यार्थी भर्नाको सूचना प्रकाशन गरेको थियो । त्यसलगत्तै परिषद्ले विश्वविद्यालयलाई पत्राचार गरी विद्यार्थीको नाम दर्ता परीक्षामा सामेल नगराउने जानकारी गराएको रजिस्ट्रार राईले बताइन् ।

उक्त पत्राचारको बोधार्थ कलेजलाई समेत गराइएको थियो ।

परिषद्की अध्यक्ष गोमादेवी निरौला श्रेष्ठ मापदण्ड नै पूरा नगरेको कलेजलाई खुरुखुरु भर्ना गर्न दिएर विश्वविद्यालयले गल्ती गरेको बताउँछिन् । उनी भन्छिन्, ‘मापदण्ड नपुगेको कलेज हो भन्ने जानकारी पटक–पटक पत्राचार गरेर विश्वविद्यालयलाई दिएका छौं । तैपनि, खुरुखुरु विद्यार्थी भर्ना गर्न दिएर विश्वविद्यालयले गद्दारी गरेको छ ।’

विद्यार्थीको भविष्य अन्योलमा

कलेजले बीएससी र बीएन अध्ययनरत विद्यार्थीबाट लाखौं रकम असुल गरिरहेको छ । तर, अनुगमनमा गएका बेला अस्पताल, बिरामी केही पनि नभेटिएको परिषद्की अध्यक्ष निरौलाले बताइन् । उनी भन्छिन्, ‘आवश्यक पूर्वाधार नै छैन । विश्वविद्यालयको आडमा विद्यार्थी भर्ना गरेको देखिन्छ ।’

चारबर्से बीएससी नर्सिङ गरेका शोभा अर्याल र तनुजा श्रेष्ठ तनावमा छन् । परिषद्ले लाइसेन्सिङ परीक्षामा समेत सामेल नगरेपछि अदालत पुगेका विद्यार्थीद्वयको मुद्दाको टुंगो लागिसकेको छैन । परिषद् अध्यक्ष निरौला भन्छिन्, ‘अध्ययन गरिरहेका अन्य विद्यार्थीको पनि भविष्य अनिश्चित छ।’ अहिले कलेजमा नर्सिङका ७० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

मिडियासँग नबोल्नू

ओएसिसको प्रकरण सम्बन्धमा फाइल अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न दयालक्ष्मी वैद्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको थियो । समितिकी सदस्य एवं परिषद्की पूर्वअध्यक्ष तारा पोखरेलले विश्वविद्यालयले गम्भीर त्रुटि गरेको बताइन् । उनले भनिन्, ‘कलेजले अटेरी गरेको देखियो । विश्वविद्यालय पनि दोषी छ । नर्सिङ परिषद्को भूमिकामाथि नै नजरअन्दाज गरियो ।’

कलेजकी प्रिन्सिपल रिती आनन्द कामतले मिडियासँग धेरै नबोल्ने बताइन्। उनले भनिन्, ‘मलाई केही थाहा छैन, सञ्चालकहरू काठमाडौं जानुभएको छ ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत