नेपाली कफीको विश्वमै शान

काठमाडौं ।  नेपाली कफी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको इज्जत जोगाउन सफल भएको छ । विश्वभर उत्पादन हुने कफीको गुणस्तरसम्बन्धी सूचकांकका आधारमा घोषणा गरिने उत्कृष्टतामा यो वर्ष नेपाली कफीले ९० अंक प्राप्त गरेको छ । पहिलोपटक नेपाली कफी संसारभरका उत्पादनलाई उछिन्दै उच्च अंक प्राप्त गर्न सफल भएको हो।

विश्वभरका कफीको गुणस्तर र बजारीकरणका विषयमा निगरानी राख्दै आएको ‘कफी रिभ्यु डट कम’ ले यो वर्ष नेपाली कफीलाई ९० अंक प्रदान गरेको छ । यो अंकले नेपाली कफी उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्तालाई ठूलो उत्साह मिलेको छ । नेपालले सन् २०१२ देखि नै उच्च अंक प्राप्त गर्न परि श्रम गर्दै आएको थियो ।

कफी उत्पादन हुने विश्वभरका मुलुकको सूचीमा नेपाल पर्दैन  तर  नेपालले उत्कृष्ट स्वाद र गुणस्तरको कफी उत्पादन गरेर विश्व कफीबजारलाई चकित बनाएको आजको अन्नपूर्ण पोष्टमा खबर छ । कफी रिभ्यु डट कमले विश्वभरबाट आउने कफीको नमुना उत्पादनदेखि प्रशोधनसम्मको सूक्ष्म प्रविधि र कफीको गुणस्तर, बास्ना, एसिडिटी र स्वादलाई आधार बनाएर यस्तो अंक प्रदान गर्दै आएको छ ।

अत्यधिक परिमाणमा कफी उत्पादन गरी ठूलो निर्यातकर्ता मुलुकको रूपमा गनिएका दुई छिमेकी मुलुक भारत र चीनको कफीले नेपाली कफीसँग यो वर्ष प्रतिस्र्पधा गर्न सकेन । भारतको कफीले सन् २०११ मा ८७ देखि ९२ सम्म र २०१६ मा ८९ अंक प्राप्त गरेको थियो । यस्तै चीनको कफीले सन् २०१७ मा ९१ देखि ९५ अंक र सन् २०१६ मा ९१ देखि ९५ अंक प्राप्त गरेको थियो । एसियाली मुलुकमध्ये इण्डोनेसियाले सबैभन्दा बढी ९७ अंक प्राप्त गरेको छ ।

यो वर्ष पनि संसारभरका कफी उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्ताले आफ्नो कफीको गुणस्तरीयताको बारेमा स्कोरिङ प्रतिस्पर्धामा सहभागी भएका थिए  यो स्कोरिङ प्रतिस्पर्धामा नेपालका तर्फबाट नुवाकोटको मदनपुरस्थित लेकाली कफी इस्टेटले सहभागिता जनाएको थियो । लेकाली कफी इस्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले एक हजार एक सयदेखि एक हजार तीन सय ५० मिटरको उचाइमा फलाएको र वैज्ञानिक रूपमा प्रशोधन गरिएको कफीको नमुना उक्त कफी रिभ्यु डट कममा पठाएका थिए । समग्र नेपालको प्रतिनिधित्व गर्दै शेर्पाले पठाएको नमुना कफीले ९० अंक प्राप्त गरेको हो । शेर्पाले अत्याधुनिक प्रविधिको प्रयोग गरी कफीखेती र प्रशोधन गर्दै आएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंगलबार कार्यक्रम आयोजना गरी नेपाली कफीले उत्कृष्ट अंक प्राप्त गरेको सार्वजनिक गरेको छ । बोर्डका निर्देशक दिपक खनालले नेपालमा उत्पादन भएको कफीले विश्वस्तरमै ९० अंक प्राप्त गरी अन्तर्राष्ट्रिय जगतमा मुलुककै शान बनाएको बताए । वाणिज्य मन्त्रालयका टीपीएसडी आयोजनाका सल्लाहकार बद्री बस्ताकोटीका अनुसार यसअघि नेपालको हिमालयन अरेबिकाले २०१६ मा ८९, २०१५ मा ८५, २०१३ मा ८४ र २०१२ मा ८१.५ अंक प्राप्त गरेको थियो। अन्तर्राष्ट्रिय बजार पाउन कम्तीमा ८० अंकभन्दा बढी अंक प्राप्त गर्नुपर्छ ।

‘यो हाम्रा लागि गौरबको विषय हो,’ खनालले भने,‘नेपालमा उत्पादन हुने कफी पनि विश्वस्तरको हुन सक्छ भन्ने हत्ववपूर्ण सन्देश अन्तर्राष्ट्रिय जगतमा दिन सफल भएको छ ।’ आगामी दिनमा दिनमा कफीको गुणस्तरलाई थप प्रभावकारी बनाएर प्राप्त भएको अंकको रेकर्ड तोड्न थप गृहकार्य गर्नुपर्ने सुझाव खनालले नेपाली उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्तालाई दिए ।

ग्रिन ल्यान्ड अर्गानिक फार्मका निर्देशक तथा नेपालको क्यु ग्रेडर डा. राजकुमार बन्जाराका अनुसार भारत र चीनले विश्व बजारमा कफीको बजार विस्तार गरिरहँदा नेपालले मौलिक स्वाद कायम राख्दै उच्च गुणस्तरको कफी उत्पादन गरेको खण्डमा कफीको अन्तर्राष्ट्रिय बजारमा थोरै भए पनि महत्ववपूर्ण हिस्सा ओगट्न सफल हुन सक्छ । कफीको विश्व बजारमा चीन १३ औं स्थानमा आउँछ । यस्तै भारत सातौं स्थानमा आउँछ ।

हिमालयन अरेबिका ब्रान्डमा कफीको प्रशोधन र बजारीकरण गरिरहेका बन्जाराका अनुसार चीनले बर्सेनि एक लाख १६ हजार आठ सय २० मेट्रिक टन र भारतले तीन लाख ४८ हजार मेट्रिक टन कफी निर्यात गर्दै आएको छ । चीनले सन् २०२२ सम्ममा उत्पादन वृद्धि गरी मुख्य निर्यातकर्ता मुलुकका रूपमा आफूलाई अगाडि बढाइरहेको छ भने भारतले अरेबिका जातको कफीको उत्पादनमा सामान्य वृद्धि गर्ने लक्ष्य राखेको छ ।

यसरी अंक प्रदान गरिन्छ

कुनै पनि मुलुकका कफी उत्पादनकर्ता र प्रशोधनकर्ताले सजिलै कफी रिभ्यु डट कमबाट स्कोरिङ पाउँदैनन् । कफी रिभ्यु डट कमले स्पेसलिटी कफी एसोसिएसन अफ अमेरिकाले कफीसम्बन्धी तयार पारेको मापदण्डको आधारमा मात्रै मुलुकभरका कफीलाई स्कोरिङ प्रदान गर्दै आएको छ ।

क्यु ग्रेडर बन्जाराका अनुसार अमेरिकाले प्रदान गरेको अनुमतिप्राप्त तीन जना क्यु गे्रडरले कफीको तीन चरणमा परीक्षण गर्छन् । पहिलो चरणको ग्रिन विन्सको गुणस्तरसम्बन्धी करिब १६ वटा प्यारामिटर परीक्षण हुन्छ । त्यसपछि दोस्रोमा विभिन्न प्रक्रियाबाट प्रशोधन तथा रोस्ट गरिएका रोस्ट कफीको परीक्षण र अन्तिममा तयार पारिएको कफीको चुस्की लिएर बास्ना, स्वाद, एसिडिटी र गुणस्तरसम्बन्धी प्यारामिटरको आधारमा सम्बन्धित मुलुकको कफीलाई अंक प्रदान गर्ने व्यवस्था छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत