स्तरीय उपचारमा नोबेल अस्पतालको फड्को !

२३ चैत्र ०७४, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेपछि यूरोपका विरामी पनि स्तरीय उपचारको खोजीमा नोबेल अस्पताल आउन थालेका छन् ।

सामान्यतः विदेशीहरु भ्रमणको सिलसिलामा नेपाल आउने गर्छन् । तर, फिनल्याण्डको बैंकिङ क्षेत्रका प्रतिष्ठित एक बिरामी फिनल्याण्डबाट ब्रेन ट्यूमरको शल्यक्रियाका लागि ‘हेलिकप्टर चार्टर’ गरेर नोबेल आएका छन् ।

‘विकसित राष्ट्रका ठूला अस्पताल छोडेर म नोबेल आएँ,’ उनले भने, ‘जस्तो सोचेर आएको थिएँ, त्यस्तै राम्रो उपचार पाएँ ।’

हेलिकप्टर चार्टर गरेर उपचारका लागि आएका उनी नोबेल अस्पतालमा ५ दिनको बसाईपछि उनी (नाम गोप्य राखिएको) ब्रेन ट्यूमरको सफल शल्यक्रियापछि स्वदेश फर्किसकेका छन् ।

नोबेलले न्यूरोका लागि मात्र करिब दुई अर्ब २० करोड लगानी गरेर स्तरीय उपचार गर्दै आएकाले पछिल्लो समय विदेशी बिरामीको पनि आकर्षण बढ्दै गएको हो ।

नेपालका विभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशका बिरामी पनि उपचारका लागि आउने क्रम बढ्दै गएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

‘नोबेलमा सस्तो दरमै स्तरीय उपचार हुने भएकाले विदेशी बिरामीको पनि आकर्षण बढ्दै गएको छ’ डा.शर्माले भने, ‘हामीले नाफामुखी होइन् सेवामुखी भावले बिरामीको उपचार गर्दै आएका छौँ ।’

नोबेलले जर्मन, अमेरिका लगायतका देशबाट अत्याधुनिक उपकरणसँगै विशेषज्ञ डाक्टरको व्यवस्थापन गरी दुर्लभ र जटिल शल्यक्रिया गर्दै आइरहेको छ ।

नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला ईन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण रहेकाले जटिल शल्यक्रिया पनि सफल पार्न सहज हुने नोबेलका न्यूरो सर्जन डा.प्रकाश काफ्ले बताउँछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत